पहिरोमा पुरिएर दुईको मृत्यु



मिला दरै, तनहुँ ।

अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा तनहुँमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । पहिरोमा पुरिएर बन्दीपुर गाउँपालिका–३ तामुङका ७० वर्षीया हरिमाया नेपाली र सोही ठाउँकी ३० वर्षीया सरस्वती थापाको ज्यान गएको छ ।

पहिरोमा परिएर ३५ वर्षीय सुवास थापा, ६६ वर्षीय लिल बहादुर थापा र ६५ वर्षीय दाउरीमाया थापा घाइते भएका छन् । उनीहरूको दमौली अस्पतालमा उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

त्यस्तै, शुक्लागण्डकी नगरपालिका–१० फिर्दी सिम्लेमा पहिरोले पुरिएका दुई जनाको उद्दार गरिएको छ । वर्षासँगै आएको पहिरोले पुरिएका दुई जनाको जीवितै उद्दार गरिएको शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्षेत्रका पाँच घर जोखिममा रहेको छ ।

चेत बहादुर भुजेलको घरमाथिबाट आएको पहिरोले पुरिएका ५५ वर्षीया खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेलको उद्दार गरिएको रेग्मीले बताउनुभयो । उहाँहरू दुवैको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिरोले पुरिंद नौ बाख्रा र एउटा भैंसी मरेको छ ।

‘बाङ्गे खोलामा आएको बाढीको जोखिममा बडहरे बस्तीको ४० घर जोखिममा रहेको छ, सुरक्षित रहन अनुरोध गरेका छौं, जोखिम रहेकाले सामग्रीहरू भने सुरक्षित स्थानमा सारिएको छ,’ वडाध्यक्ष रेग्मीले भन्नुभयो । खोलामा आएको बाढीले करिब एक हजार दुई सय रोपनी क्षेत्रफलमा रोपिएको धानखेतमा क्षति पुगेको छ ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ सिम्लेका टेक बहादुर महतको गोठमाथिबाट आएको पहिरोले पुरिँदा १० बाख्रा र एउटा भैंसी परिएको छ । उक्त क्षेत्रमा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिका–१, २ र ३ नम्बर वडाका साना खोलानालामा बाढी र पहिरोले क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो ।

छाब्दी खोलाको पुल बगायो

बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले व्यास १ र १३ नम्बर वडा तथा बन्दीपुर गाउँपालिकाको तल्लो भाग जोड्ने छाब्दी खोलाको पुल बगाएको छ । पुल बगाएपछि बिहानैदेखि दुई वडा र बन्दीपुर गाउँपालिकाको आवतजावत विच्छेद भएको छ ।
छाब्दी खोलामा ठूलो बाढी आएपछि पुल भत्किएको भादगाउँका स्थानीय एवं नेपाली कांग्रेस तनहुँका सचिव विश्व वास्तोलाले जानकारी दिनुभयो । लामो समयको अन्तरालमा यो खोलामा आएको बाढीले स्थानीय केही घर जोखिममा रहेको उहाँले बताउनुभयो ।

पानीको बहाव नघटेमा थप क्षति हुने सम्भावना देखिएको उहाँले बताउनुभयो । उक्त पुलमार्फत् व्यास नगरपालिकाको १, १३ र १४ नम्बर वडाका स्थानीयको आवतजावत गर्ने मुख्य मोटरेबल मार्ग हो । त्यस्तै, सोही मार्गले नारायणगढ र तनहुँ जोड्ने बुद्धमार्गअन्तर्गतको पुलले बन्दीपुर गाउँपालिका–६ मास्दीघाट लगायतका विभिन्न गाउँहरू जोड्ने गर्दछ ।

यसैबीच पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विभिन्न भागमा पहिरो खसेको छ । राजमार्गमा खसेको पहिरो हटाइएको छ । व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा समस्या भएको छ ।

राजमार्गमा खसेको पहिरो हटाइए पनि वर्षा भइरहेकाले सवारीसाधन चलाउन मुस्किल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य स्थानमा पहिरोले मात्रै समस्या हुने भए पनि शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा राजमार्गमा आएको पानीको खोलाले समस्या रहेको छ ।

शुक्लागण्डकी नगरपालिकाअन्तर्गत राजमार्गमा पानी बगेकाले ठूला, साना सवारी साधन आवतजावतमा समस्या रहेको उहाँले बताउनुभयो । ‘ठूला सवारीलाई समेत सडक पार गर्न समस्या भएको छ, सानाको झन् पार गर्न सक्ने अवस्था छैन,’ उहाँले भन्नुभयो । जिल्लाका धेरै भागमा पहिरो गएकोले राजमार्ग तथा भित्री सडकहरूमा पनि यातायात अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्