काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणको तयारीका सन्दर्भमा बुधवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र परराष्ट्रसचिव अमृतबहादुर राईसँग भेट गरी दुई देशबीचको आर्थिक सहकार्यका साथै पारस्परिक हितका विभिन्न विषयमा छलफल गर्नुभएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग परराष्ट्रमन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल–भारतबीचको बहुआयामिक साझेदारी थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटमा दुई देशबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भेटमा ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयसमेत उठेको थियो ।
त्यसैगरी बुधवार नै भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच अर्थमन्त्रालयमा भेटवार्ता भएको थियो । भेटमा नेपाल–भारतबीच बृहत् आर्थिक सहकार्यका विभिन्न आयामहरूमा छलफल भएको बताइएको छ । बुधवार नै भारतीय विदेश सचिव मिश्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्रेष्ठबीच पनि भेटवार्ता भएको थियो ।
नेपाल भ्रमणको क्रममा मिश्री नेतृत्वको भारतीय प्रतिनिधिमण्डल र समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राई नेतृत्वको नेपाली प्रतिनिधिमण्डलबीच पनि छलफल भएको थियो । छलफलमा मिश्रीले नेपाल र भारतबीचको सम्बन्धलाई विशिष्ट सम्बन्धको संज्ञा दिँदै दुवै देश सुख र दु:खका परिस्थितिमा एकअर्काका साझेदार रहँदै आएको जिकिर गर्दै दुई देशबीच लामो समयदेखि बाँकी रहेका विषय समाधान गर्न तथा विभिन्न क्षेत्रमा अघि बढाइएका महत्वपूर्ण पहल कार्यान्वयन गर्न भएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभएको थियो । उक्त छलफलमा उहाँले दुवै देशका अधिकारीले सहकार्यलाई निरन्तरता दिने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।
भारतीय विदेशसचिव विक्रम मिश्रीले बिहीवार भ्रमण सकेर फर्कनुअघि प्रधानमन्त्री शाहसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । उक्त भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणासहित शाहको प्रस्तावित भारत भ्रमणबारे छलफल हुने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया