संक्रमितको शव बोक्ने वडाध्यक्ष आफै संक्रमित बने



दुर्गाप्रसाद शर्मा, पर्वत ।

कोरोना संक्रमितको निधन भएपछि शब बोकेर घाटमा लैजाने वडा अध्यक्ष आफै कोरोना संक्रमित बन्नु भएको छ । आफ्नो वडामा निधन भएका कोरोना संक्रमितको शब पिपिई सेट लगाएर आफै ब्यबस्थापन गर्ने पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका वडा अध्यक्ष बिकास तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आफन्तहरु समेत शब छुन डराउने गरेको बेला वडा अध्यक्ष तिमिल्सिना आफैले मृतकको शब ब्यबस्थापनमा लाग्नुभएको थियो । मोदी गाउँपालिका वडा नं ७ घर भै हाल पातीचौर बजारमा बस्दै आएकी ८२ बर्षिया महिलाको मृत्यु भएपछि शबलाई बाँध्ने बेलामा आफुँ संक्रमित बन्न पुगेको अनुमान अध्यक्ष तिमिल्सिनाको छ । मृतकका नातीले राम्रो संग शब बाँध्न नसकेपछि तिमिल्सिना आफुँ सहयोग गर्न अघि सर्नुभएको थियो ।। मृतकका नाती पनि कोरोना संक्रमित हुनुहुन्थ्यो । ‘पिपिई र मास्क लगाउँदा गर्मी भएपछि एकछिन स्वच्छ हावा खान्छु भनेर मास्क खोले , त्यतिनै बेला संक्रमित बन्न पुगेछु।’ उहाँले भन्नुभयो ‘कसैले पनि शब छुन नमानेपछि आफैले बाँध्न कस्सिनु परेको थियो, सानो असावधानीले संक्रमित हुन पुगे ।’

संक्रमित पुष्टि भएका वडा अध्यक्ष तिमिल्सिना अहिले होम आइसोलेसनमा हुनुहुन्छ । तिमिल्सिनाले आफ्नो स्वास्थ्य अबस्था भने सामान्य रहेको बताउनुभयो । शनिबार एक जना बृद्धको शब आफै पिपिई सेट लगाएर घाट तर्फ लगेको तस्बीर सामाजिक सञ्जालमा भाईरल भएको थियो ।

वडा अध्यक्ष तिमिल्सिना यस अघि प्रहरी सेवामा हुनुहुन्थ्यो । उहाँले पर्वत लगायतका स्थानमा ट्राफिक प्रहरीको प्रमुख हुँदा पनि नमुना काम गरेर चर्चामा आउनुभएको थियो । तिमिल्सिनाले २० वर्ष लामो प्रहरीको सेवा बिताएको तीन महिनापछि नै वडा अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँको काम गर्ने शैली प्रहरीको जस्तो छ। गर्नुपर्ने काम गरिहाल्नुपर्ने, आवश्यक परेमा निडर भई जस्तो ठाउँमा पनि हात हाल्ने। वडामा रहने पाँच जनप्रतिनिधिमध्ये विकास नेपाल प्रहरीबाट सेवा निवृत्त हुन्। अन्य दुईजना पनि भारतीय सेनाबाट अवकाश पाएकाहरु हुनुहुन्छ । यही कारण उनीहरुको काम गर्ने शैली एकै प्रकारको छ। परेको बेलामा कामको सुरुवात आफैंले गर्ने र अरुलाई आदेश दिनुभन्दा आफूले नै सुरुवात गरेर देखाउँदा त्यसले नागरिकमा जागरुकता ल्याउने तिमिल्सिनाको अनुभव छ ।

अध्यक्ष तिमिल्सिनाका बुवा स्व. गुरुदत्त तिमिल्सिनाले गाउँ पञ्चायतको प्रधानपञ्च हुँदा आफ्नो खेत बेचेर मोदीखोलामा झोलुङ्गे पुल निर्माण गर्नुभएको थियो । सामाजिक सञ्जालमा ‘जस्तो वाउँ, उस्तै निस्के छोरा’ भने तिमिल्सिनाको चर्चा पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्