जोखिममा रहेका बालबालिकालाई खाद्यान्न वितरण



रमेश केसी, बझाङ ।

जिल्लामा सञ्चालित वल्र्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा जोखिममा रहेका बालबालिका तथा उनका परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिकाका दुईवटा वडा, केदारस्युँ गाउँपालिकाका–४ वडाका कोभिड–१९ बाट प्रभावित घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । वल्र्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा केदारस्युँ गाउँपालिकाको वडा नम्बर ३, ६, ७ र ८ मा तीन सय परिवार, जयपृथ्वी नगरपालिका वडा नम्बर ११ र तीनमा गरी एक सय ५० घरधुरीलाई प्रतिव्यक्ति ३० केजी जिरा मसिनो चामल, तीन किलो दाल, तेल, दुई लिटर चिनी दुई किलो, नुन दुई किलो, हातधुने साबुन चार वटा गरी प्रतिव्यक्ति तीन हजार तीन सय ३३ रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरेको छ ।

साथै उक्त राहत सामग्री पाएपछि केही दिनका लागि भए पनि संघ संस्थाले खान लाउन समस्या भएपछि हामी छौं है भन्ने आभास गराएको जयपृथ्वी नगरपालिका–११ काप्रिकोट घर भएका मनवीर खातीले बताउनुभयो ।

कोरोनाको दोस्रो लहरअन्र्तगत अति जोखिममा रहेका बालबालिका तथा कोरोना प्रभावित घरपरिवारलाई राहतका सामग्रीहरू वितरण गरिएको र जसले गर्दा थोरै दिन भए पनि राहत महसुस होस् भन्ने उद्देश्यले राहतका कार्यक्रम सञ्चालन गरेको र दोस्रो चरणअन्र्तगत परियोजना लागू भएका जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाका करिब १३ सय परिवारलाई उक्त खाद्यान्न राहत सामग्री वितरण गर्ने कार्यक्रम रहेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो ।

वल्र्ड भिजन र प्रगतिशील युवा समाजको साझेदारीमा बालबालिकाको गुणस्तरीय शिक्षा अभिवृद्धि गराउने र जोखिममा रहेका बालबालिकाका परिवारको आयआर्जनमा मद्दत पुग्ने उद्देश्यले जीविकोपार्जन लगायतका परियोजनाहरू जिल्लाको केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिकासंग सहकार्य गरेर काम गर्दै आएको छ ।

प्रगतिशील युवा समाज र वल्र्ड भिजनले गाउँपालिकासँग सहकार्य गरेर खाद्यान्नका कार्यक्रम मात्र नभई ठूलो मात्रामा स्वास्थ्य सामग्री लगायत विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहेको अवस्थामा हरेक शनिबार पढाइ शिविरसमेत गर्दै आएको केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्