अत्यधिक तापक्रमबाट दर्जनौंका ज्यान गयो



मोन्ट्रियल,(एजेन्सी) ।

अप्रत्यासित ताप लहरको कारण तापक्रम निकै बढ्दा क्यानाडामा दर्जनौं व्यक्तिको ज्यान गएको छ । शुक्रबार यता मात्र भ्यानकोभर क्षेत्रमा एक सय ३० जना भन्दा बढी व्यक्तिको अचानक मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृत्युवरण गर्ने मध्ये अधिकांश उमेर पुगेका र स्वास्थ अवस्था नाजुक देखिएकाहरू भए पनि मृत्युको एक कारण अत्यन्तै चर्को गर्मी नै रहेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

क्यानाडाको तापक्रमले लगातार तेस्रो दिन मंगलबारसम्म पनि अहिलेसम्मकै सबैभन्दा बढी तापक्रमको कीर्तिमान राखेको छ । लिटन र ब्रिटिस कोलम्बियामा तापक्रम बढेर ४९ दशमलव पाँच डिग्री सेल्सियस अर्थात् एक सय २१ फरेनहाइट पुगेको छ ।

यसैगरी, संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिम क्षेत्रमा पनि अत्यधिक गर्मीकै कारण थुप्रै व्यक्तिले ज्यान गुमाउनु परेको छ । विशेषज्ञहरूले विश्वमा देखापरेको जलवायु परिवर्तन समस्याको कारण यसरी अनपेक्षित ढंगले पृथ्वीको तापक्रम बढेको तथा मौसममा अन्य प्रतिकूल प्रभावहरू देखिएको हुनुपर्ने दाबी गरेका छन् ।

क्यालिफोर्नियादेखि आर्कटी भूभागमा फैलिएको तातो वायुको स्थिर तथा उच्च दबाबका कारण क्यानाडाको पश्चिम भागहरू र अमेरिकामा तापक्रम बढेको मौसमविदहरूको भनाइ रहेको छ ।

तटीय क्षेत्रमा तापक्रममा केही अनुकूल सुधार आए पनि भित्री भूभागमा खासै परिवर्तन नदेखिएको बताएको छ । आइतबार अघिसम्म क्यानाडाको तापक्रम कहिल्यै पनि ४५ डिग्री सेल्सियस पुगेको थिएन ।

प्रतिक्रिया दिनुहोस्