प्रेमकै कारण अमेरिकी फौजलाई धोका दिने महिला दण्डित



वासिङ्टन, (एजेन्सी), । 

सेनामा अनुवादिकाको रूपमा काम गर्ने तथा प्रेममा चुर्लुम्म डुबेकी एक महिलालाई इस्लामिक समूह हिज्वुल्लाहलाई अमेरिकी जासुुसहरूको नाम उपलब्ध गरिएको अभियोगमा अदालतले २३ वर्ष लामो कारावास सजाय सुनाएको छ । ६२ वर्षीया मरियम थोम्पसनले आफूले लेबनानी लडाकु समूह हिज्वुल्लाहसँग आबद्ध एक पुरुषलाई गोप्य सूचना पठाउने गरेको स्वीकार गरेकी छन् ।

लेबनानमा जन्मेकी थोम्पसनले सन् १९९३ मा अमेरिकी नागरिकता लिएकी थिइन् । उनले आफ्नो प्रेमी रहेका ती माइती देशमा बस्ने पुरुषसँग विवाह गर्न पाउने आशामा अमेरिकी फौज र सूत्रलाई खतरामा पारेको वकिलहरूले बताएका छन् ।उनले आफ्नो बुढेसकालमा पनि कसैले आफूलाई माया पिरती गाँसोस् भन्ने चाहेको तर कहिल्यै पनि कसैलाई हानी पु-याउन नचाहेको बयान दिएकी छन् । अमेरिकी सेनामा भाषाविद्को पदमा कार्यरत उनलाई निकै महत्वपूर्ण र गोप्य जिम्मेवारी दिइने गरेको बताइएको छ । उनले सन् २०१७ देखि गोप्य तरिकाले भिडियो च्याट र टेक्सट म्यासेजमार्फत सूचना प्रवाह गर्न शुरू गरेकी थिइन् ।

अमेरिकी विदेश विभागका अनुसार यसरी सूचना आदान–प्रदान गर्ने क्रममै उनी ती पुरुषसँग गहिरो प्रेममा परेकी थिइन् । पछि उनले नाम नखुलाइएका ती पुरुष लेबनानी गृह मन्त्रालय र लेबनानी हिज्वुल्लाहका महासचिव हस्सन नासरल्लाह नजिकका व्यक्ति भएको थाहा पाएकी थिइन् ।अमेरिकाले इराकमा हिज्वुल्लाविरुद्ध गरेको श्रंखलाबद्ध कारबाही गरिरहेका बेला सन् २०१९ को डिसेम्बरमा थोम्पसन इराकमा अमेरिकी स्पेसल अपरेसन टास्क फोर्समा खटाइएकी थिइन् । सन् २०२० को ३ जनवरीमा इराकमा इरानी रिभोलुस्नरी फौजका कमान्डर कास्सिम सुलेमानी र काताइव हिज्वुल्लाहका संस्थापक अवु माहदी अल–मुहान्दिस अमेरिकी आक्रमणमा मारिएका थिए ।थोम्पसनका प्रेमीले उनीसँग सो अपरेसनका लागि अमेरिकाले कसरी गोप्य सूचना संकलन ग¥यो भन्नेबारे जानकारी मागेका थिए । उनले त्यससम्बन्धी गोप्य दस्तावेज, तस्वीरहरू र अमेरिकी अधिकारीहरूका वास्तविक नाम उपलब्ध गराएकी थिइन् । थोम्पसन गत वर्षको २७ फेबु्रअरीमा पक्राउ परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्