इराक–सिरिया सीमा क्षेत्रमा अमेरिकी हमला



वासिङ्टन, (एजेन्सी) ।

संयुक्त राज्य अमेरिकाले इराक–सिरिया सीमा क्षेत्रमा इरान सर्मिथत लडाकु समूहहरूमाथि लक्षित गरी हवाई हमला गरेको छ । आइतबार गरिएको सो सुरक्षा कारबाही तिनीहरूको हातहतियार भण्डार गृहहरूमाथि केन्द्रित रहेको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार अमेरिकी फौजमाथि गरिएका ड्रोन आक्रमणको बदलामा सो कदम चालिएको हो ।

साथै, पेन्टागनले अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी फौजको रक्षाका लागि यो कदम चालेको जनाएको छ । तर, पेन्टागनले यस आक्रमणमा लडाकु पक्षको के–कति भौतिक तथा मानवीय क्षति भयो भन्नेबारे केही पनि बताएको छैन ।एउटा अनुगमन समूहले भने यस आक्रमणको दौरान सिरियामा पाँच जना लडाकुको ज्यान गएको जनाएको छ । बेलायतस्थित सिरियाली मानव अधिकार मामिला हेर्ने यस अनुगमन समूह तथा सिरियाली सरकारी समाचार निकाय सानाले एक जना बालक मारिएको र कम्तिमा अन्य तीनजना व्यक्ति घाइते भएको जनाएको छ ।

गत जनवरीमा पदभार सम्हालेयता राष्ट्रपति बाइडेनले योसमेत दोश्रोपटक हवाई हमलाका लागि निर्देशन दिएका हुन् ।पछिल्ला केही महिनायता इराकस्थित अमेरिकी फौजमाथि पटक–पटक ड्रोन आक्रमण गरिएका छन् । तर, इरानले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको जनाउने गरेको छ ।जिहादी समूह इस्लामिक स्टेट (आईएस) विरुद्ध लड्ने अन्तर्राष्ट्रिय गठबन्धन फौजको एक हिस्साअनुरूप इराकमा करिब दुई हजार पाँच सयको संख्यामा अमेरिकी फौज तैनाथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्