इजरायलमा सेनालाई अदृश्य बनाउने क्यामोफ्लेज



जेरुसेलम, (एजेन्सी) । 
एक नयाँ प्रकारको क्यामोफ्लेज प्रविधि अब फौजलाई करिब–करिब अदृश्य बनाउन सक्ने अनौठो खबर बाहिरिएको छ । थर्मल भिज्युयल लुकाउने पदार्थबाट तयार पारिएको किट ३०० ले सेनालाई नदेखिने बनाउने बताइएको छ ।

इजरायल प्रतिरक्षा फौजले प्राप्त गरेको यस प्रविधिको अहिले संयुक्त राज्य अमेरिकामा परीक्षण भइरहेको छ । जेरुसेलम पोस्टका अनुसार इजरायली रक्षा मन्त्रालय र इजरायलस्थित सर्भाइबलिटी टेक्नोलोजी कम्पनी पोलारिस सोलुसन्सले यसरी सेनालाई अरूले देख्न नसकिने खालको नयाँ क्यामोफ्लेज प्रविधि तयार पारेका हुन् ।यसरी, थर्मल भिज्युयल लुकाउने किट ३०० धातुहरू, माइक्रो फाइवर र पोलिमर्स मिलाएर बनाइएको हो । पोलिरिस सोलुसन्स वेबसाइटमा लाइबेट स्ट्रेचरको रूपमा दोब्बर पार्न सकिने यस्तो क्यामोफ्लेज लगाउने सैनिकलाई मानिसको आँखा र थर्मल इमेजिङ उपकरण दुवैले थम्याउन कठिन हुने बताइएको छ ।

सेनाले त्यो लगाएर वा त्यस्ता क्यामोफ्लेज जोडेर आफ्नो स्वरूपलाई चटान वा मरुभूमिको पृष्ठभूमिसँग एकाकार गर्न सक्छन् । इजरायली रक्षा मन्त्रालयको अनुसन्धान तथा विकास इकाइको डिटेक्टर्स एन्ड इमेजिङ ब्रान्चका प्रमुख गाल हरारीले टाढाबाट बाइनोकुलरले हेरिरहेकाहरूले यस्तो क्यामोफ्लेज लगाएका सेनालाई देख्न नसक्ने बताएका छन् ।यस्तो क्यामोफ्लेज बनाइने केवल पाँच सय ग्राम वजनको पाटा सजिलै पट्याउन सकिने बताइएको छ । पोलारिस सोलुसन्सका सह–संस्थापक एस्साफ पिस्सिओत्तोको निजी अनुभवको आधारमा यो प्रविधिको विकास भएको हो ।

प्रतिक्रिया दिनुहोस्