महाशिलामा बिदुर तथा एकल पुरुषलाई मासिक भत्ता



न्युज अफ नेपाल, पर्वत ।

पर्वतको महाशिला गाउँपालिकाले बिदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ बर्गका अपाङ्गलाई मासिक भत्ता दिने भएको छ । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका पुरुषलाई भत्ता दिने उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका बिदुर तथा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक १ हजारका दरले भत्ता दिइने तयारी गाउँपालिकाको छ । सामाजिक सुरक्षाभत्ताले एकल महिला र जेष्ठ नागरिक तथा दलित जेष्ठ नागरिकलाई सम्बोधन गरेपनि कतिपय एकल पुरुष तथा बिदुर पुरुषहरुको जीवन समेत कष्टकर देखिएको हुँदा सबैलाई सामाजिक सुरक्षाको मापदण्डमा छिराउने काम गरिएको अध्यक्ष पौडेलले बताउनुभो । ‘कसैले पनि सामाजिक सुरक्षाको अनुभूति गर्नबाट बञ्चित हुन नपरोस भनेर यस्तो ब्यबस्था गरेका हौ।’ उहाँले भन्नुभयो ‘तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरु यो योजनामा समेटिने छैनन् ।’ महाशिला गाउँपालिकामा एकल पुरुष र अन्य सामाजिक सृुरक्षा भत्ता नपाउने बिदुरको संख्या ४० जनाको हाराहारीमा रहेको छ ।

यसैगरी गाउँपालिकाले ‘ग’ र ‘घ’ बर्गका अपाङ्गलाई पनि सामाजिक सुरक्षाभत्ता उपलब्य गराउने भएको छ । पूर्ण अपांगता भएका ‘क’ र आंशिक अपांगता ‘ख’ बर्गले संघीय सरकारबाट नै अपांग भत्ता पाउँदै आएका छन । ग र घ बर्गका अपांगलाई पनि मासिक ६ सयका दरमा भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ । ग र घ बर्गका अपाङ्गको संख्या १ सय जतिको संख्यामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्