दलित अधिकारवादीद्वारा हेटौंडामा आन्दोलनको उद्घोष



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा क्रियाशील दलित अधिकारवादी संघसंस्थाले दुई दिन हेटौंडामा आन्दोलन गर्ने भएका छन् । काठमाडौंमा पत्रकारिता पेशा गर्दै आएकी रुपा सुनारलाई बबरमहलकी घरबेटी सरस्वती प्रधानले दलित भएकै कारण कोठाभाडा दिन अस्वीकार गरेको विषयमा हेटौंडामा आन्दोलन गरिने भएको हो ।

मानवसभ्यता र विज्ञान प्रविधिको युगमा पनि जातका आधारमा कोठाभाडामा नदिनु गम्भीर जातीय विभेद भएको भन्दै दलित अधिकारवादीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर धर्ना दिने जनाएका हुन् । सोमवार जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर मंगलबार र बुधबार बुद्धचोकमा कोणसभा र प्लेकार्डसहित क्रियाशील दलित अधिकारवादी संघसंस्थाले प्रदर्शन गर्ने जनाइएको छ ।

संविधान र कानुनले वर्जित गरेको जातीय छुवाछुतको व्यवहार गर्ने प्रधानलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरिरहेको अवस्थामा संविधानले प्रत्याभुत गरेको मानवअधिकार, कानुनी राज्य, विभेदविरुद्ध हक र दलित अधिकारलाई चुनौती दिँदै राज्यको महत्वपूर्ण निकायमा रहेका बहालवाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आरोपीलाई छुटाउन मन्त्रीको ठाँटका साथ प्रहरी कार्यालयमा पुगी गाडीमा राखेर घरमा पुर्‍याउने कार्य अत्यन्त निन्दनीय रहेको नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा केन्द्रीय सदस्य जंगबहादुर बिश्वकर्माले बताउनुभयो ।

दलितमाथि जहिले पनि आक्रमण गर्ने कार्य भइरहेको हुनाले केन्द्रमा भइरहेको आन्दोलनलाई साथ दिन र समुदायको अधिकारका विषय उठाउन आन्दोलन गर्न लागिएको बिश्वकर्माले जानकारी दिनुभयो । उहाँले जातीय विभेद र सुनार जस्ता कतिपय दलित भएका कारण हेपिनुपरेको भन्दै राज्यलाई धक्का दिने गरी आन्दोलन गरिने बताउनुभयो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुर सहइञ्चार्ज केशब रसाइलीले प्रधानलाई मन्त्री जस्तो पदमा रहेका नेतासमेतले साथ दिँदा पार्टीले कारबाही नगरी अझ साथ दिने काम गरेको भन्दै आक्रोश पोख्नुभयो । आइतबारको बैठकमा मकवानपुरका क्रियाशील दलित अधिकारवादी संघसंस्थाका पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्