झापालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर



न्युज अफ नेपाल, भद्रपुर ।

विपत्तमा परेकालाई सहयोग गर्ने उद्देश्यले स्थापित मेची अभियानले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

करिब २८ लाख मूल्य बराबरको १२ वटा अक्सिजन कन्सन्ट्रेटरलाई जिल्ला प्रशासन कार्यालय परिसरमा मेची अभियानका संयोजक विजय डालमियाले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई हस्तान्तरण गर्नुभएको हो ।

प्राप्त अक्सिजन कन्सन्ट्रेटरलाई डिसिसिएमसी मार्फत झापाका १२ वटा पालिकाका स्वास्थ्य संस्थालाई एक/एक थानका दरले वितरण गरिने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताउँनुभयो । कोरोना महामारीसहित दीर्घकालीन रुपमा काम लाग्ने महत्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै प्रजिअ तिमिल्सिनाले मेची अभियान टिमलाई धन्यवाद समेत दिनुभयो । कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डे, अभियानका सदस्यहरू प्रकाश भण्डारी, ओमप्रकाश खापुङ र सविना बजगाईँको समेत उपस्थिति रहेको थियो ।

नेपाली काँङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा एनआरएन ग्लोबल तथा करुणा फाउन्डेसनबाट प्राप्त २५ वटा अक्सिजन कन्सन्ट्रेटरमध्ये मेची अभियानले १२ वटा डिसिसिएमसीलाई उपलब्ध गराएको अभियानका संयोजक डालमियाले बताए । एनआरएन ग्लोबलमार्फत मेची अभियानलाई २० थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । त्यसमध्ये झापामा १२ थानसहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई दुई/दुई थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिने उहाँले बताउँनुभयो ।

यसअघि करुणा फाउन्डेसनको सहकार्यमा उपलब्ध भएको पाँच वटा अक्सिजन कन्सन्ट्रेटर मेची अभियानले बुद्धशान्ति गाउँपालिकाको आइसोलेसनलाई दुई थान र मेचीनगरको आम्दा अस्पताललाई दुई थान, धाइजन आइसोलेसनलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले बताउँनुभयो ।

भूकम्पपछि विपत्तीमा परेकालाई सहयोग गर्ने उद्देश्यले २०७२ सालमा स्थापना भएको मेची अभियानले राहत र निर्माण सामग्री वितरण गरी सहयोग गर्दै आइरहेको थियो । गत सालदेखि कोरोना भाइरसको महामारी फैलिएसँगै अभियानले पहिलो र दोस्रो चरणमा जिल्लामा स्वास्थ्य सामग्री र उपकरण वितरण गरी मानवीय सेवामा योगदान दिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्