बागमतीले छुट्टयाएन कलालाई बजेट



हेटौंडा, (नेस)।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८-०७९ का लागि ५७ अर्ब ७२ करोडको बजेट विनियोजन गर्दा गीत, संगीत तथा कलाको क्षेत्रमा भने बजेट विनियोजन हुन सकेन।गीत, संगीत र कला क्षेत्रमा अन्य प्रदेशको तुलनामा सबभन्दा बढी कलाकार, फिल्म इन्डस्ट्रिज तथा गीत, संगीत उत्पादनको मूल स्थान बागमती प्रदेशमा नै पर्छ। कोरोना संक्रमणका रोकथाम तथा न्यूनीकरणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण कला क्षेत्र पनि निकै मारमा परेको छ। यसका बाबजुद बागमती प्रदेश सरकारले हालै घोषणा गरेको आर्थिक वर्ष २०७८-०७९ को बजेट भाषणमा गीत, संगीत र कला क्षेत्रका लागि बजेट विनियोजन गरिएको छैन। यसो हुँदा राष्ट्रका गहना मानिने कला र गला क्षेत्रलाई बागमती प्रदेशको बजेटले अलिकति पनि छुन सकेन।

गत मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारको आगामी आवको बजेट प्रस्तुत गर्दा कलाक्षेत्रले स्थान पाउनै सकेन। एक सय ८५ वटा बुँदाको बजेट सार्वजनिक हँुदा कलाकारिता क्षेत्रलाई समेट्न नसक्नु यो क्षेत्रका लागि चिन्ताको विषय बनेको छ।भीम विराग कला प्रतिष्ठान मकवानपुरका अध्यक्ष ह्यगीव आचार्यले बजेट भाषण कलाकारितामैत्री नभएकोमा चिन्ता लागेको बताए। ‘कला र गलाले देशलाई चिनाउँदै आएका गीत, संगीत क्षेत्रमा निरन्तर देशको नाम उच्च राख्दै जीवन व्यतित गरिरहेका कलाकारको प्रदेश सरकारले सम्मान गर्न सकेन’ उनले भने– ‘बजेट विनियोजन गर्ने ठूला व्यक्तिहरू रहेकाले कला र गला नबुझेपछि कला क्षेत्रमा बजेट छुट्याउने सोच नआएको होला।’ उनले प्रदेश सरकारले यस्ता कला प्रतिष्ठान र कलाकारबारे पनि सोचेको होला भन्ने लागे पनि बजेटका कुनै बुँदामा कलाक्षेत्र समेटिँदा नरमाइलो लागेको बताए।

प्रदेशमा गीत, संगीत र कला क्षेत्रका व्यक्तिलाई आव २०७८-०७९ को बजेटले निराशा थपिदिएको छ। सरकारले कलाकारिताको पहिचान तथा सम्मान गर्न नसकेकोप्रति कलाक्षेत्रमा लागेकाहरूले गुनासो गरेका छन्। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेल यस्ता प्रतिष्ठानले प्रदेश सरकारसँग माग लिएर नआएका कारण यस वर्षको बजेटमा कलाकारिता क्षेत्रलाई समेट्न नसकिएको बताए। मन्त्री ढुंगेलले भने– ‘छुटेको हुनसक्छ। यस्ता विषयमा प्रतिष्ठानहरूले हामीलाई जानकारी दिए केही बजेट छुट्याउन सकिन्छ कि भन्ने हो।’

प्रतिक्रिया दिनुहोस्