मकवानपुरमा कोरोना संक्रमणबाट १२० जनाको मृत्यु



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएर हेटौंडा अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । यससँगै जिल्लामा मृत्यु हुनेको संख्या १ सय २० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा–२ की ४६ वर्षीया महिला, हेटौंडा–१२ का ६४ वर्षीय पुरुष र भीमफेदी–३ का ३६ वर्षीय पुरुष छन् । मृत्यु हुने हेटौंडा–२ की महिलामा जेठ २३ गते कोरोना पुष्टि भएको र उनलाई उपचारका लागि जेठ २६ गते हेटौंडा अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मंगलबार विहान मृत्यु भएको हो ।

मृत्यु हुने हेटौंडा–१२ का पुरुषमा जेठ २२ गते कोरोना पुष्टि भएको र उपचारका लागि जेठ २३ गते हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको हो । मृत्यु हुने भीमफेदी गाउँपालिका–३ का पुरुषलाई जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको र जेठ २५ गते उपचारका लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उनको सोमबार राति करिब ७ बजे उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार मकवानपुरमा कोरोना जित्ने भन्दा कोरोना संक्रमितको संख्या बृद्धि भएको छ । मंगलबार १ सय १३ जना कोरोनामुक्त हुँदा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकअनुसार ९४ जनाको पीसीआर परीक्षण गर्दा ४३ जनामा र १ सय ८२ जनाको एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्