दलित भएकै कारण कोठा भाडामा दिन अस्वीकार गर्ने घरबेटीविरुद्ध दलित र मानव अधिकार आयोगमा पनि उजुरी



न्युज अफ नेपाल, काठमाडौं ।

रूपा सुनारले आफुलाई दलित भएका कारण कोठा भाडामा नदिने घरबेटी सरस्वती प्रधान विरुद्ध राष्ट्रिय दलित आयोग र राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दिएकी छिन् । उनले हालै दुवै आयोगमा उजुरी दिएकी हुन् । उक्त घटना विरुद्ध सुनारले गत असार ३ गते महानगरीय प्रहरी वृत, सिंहदरवारमा जाहेरी दिएकी थिइन । त्यसपछि प्रहरीले गत आइतबार नै प्रधानलाई प्रक्राउ गरेर अनुसन्धान अगाडी बढाइ सकेको छ । सोही क्रममा सुनारले उक्त मुद्दा दुवै आयोगको तर्फबाट पनि आवश्यक सहयोग तथा सहजीकरण गर्न माग गर्दै उजुरी दिएकी हुन् ।

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले उक्त मुद्दा बिषयमा आवश्यक कारवाही गर्न माग गर्दै गृह मन्त्रालयलाई पत्र पठाएको बताए । ‘आयोगले यो घटनालाई गम्भिर रुपमा लिएको छ,’ उनले भने, ‘साथै, आयोगले यस बिषयमा थप अनुसन्धान पनि गर्नेछ ।’यस्तै, मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले यस मुद्दामा आयोगबाट आवश्यक अध्ययन तथा अनुसन्धान अगाडी बढेको बताए ।

‘मंगलबार मात्र उक्त उजुरी आयोगमा दर्ता भएको छ । त्यसलगतै हामीले यस घटनामा के कस्तो काम कारवाही भएको छ भनेर जानकारी दिन प्रहरीलाई पत्रचार गरेको छौं,’ उनले भने, ‘तत्काललाई हाम्रो भनाई पनि दोषीलाई समयमा कारवाही हुनुपर्ने र पिडितलाई न्याय दिनुपर्छ भन्ने हो । पछि पिडितलाई क्षतिपुर्ति दिने बिषयमा पनि आयोगले केही पहल गर्न सक्नेछ ।’

कोठा खोज्ने क्रममा गत असार १ गते रुपा सुनार बबरमहल स्थित सरस्वती प्रधानको घर पुगेको थिइन । सुरुमा घरबेटी प्रधानले सुनारलाई कोठा भाडामा दिने बताएकी थिइन् । तर, पछि सुनारले आफु कामी हो भनेपछि घरबेटी प्रधानले कोठा दिन नसकिने बताएकी थिइन । त्यसपछि रुपा सुनार त्यसको विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्