पेरुद्वारा कोलम्बिया पराजित



रियो दि जेनेरियो, (एजेन्सी) । 

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पेरुले बलियो टोली कोलम्बियालाई पराजित गरेको छ ।सोमबार बिहान भएको समूह ‘ए’ को खेलमा कोलम्बियालाई पेरुले २–१ गोलअन्तरले पराजित गरेको हो । प्रतियोगितामा कोलम्बियाको यो पहिलो हारसमेत हो ।ब्राजिलको इस्टाडियो ओलम्पिको पेड्रो रंगशालामा भएको खेलमा कोलम्बियाले आत्मघाती गोल गरेपछि हार पन्छाउन सकेन । खेलमा एक गोलले पछि परेको अवस्थामा कोलम्बिया खेलमा फर्किएको थियो । तर, दोस्रो हाफमा आत्मघाती गोल हारको कारण बन्यो ।

पेरुले खेलको १७औं मिनेटमा गोल गरेर अग्रता बनाएको थियो । सो गोल सर्जियो पेनाले गरेका थिए । त्यसपछि, कोलम्बियालाई खेलको ५३औं मिनेटमा बराबरी गोल फर्कायो । कोलम्बियाका लागि पेनाल्टीमार्फत् मिगुएल बोर्जाले गोल गरेर खेल १–१ बनाए ।बराबरी गोल गरेको ११ मिनेटपछि कोलम्बियाका डिफेन्डर येरी मिनाले आफ्नै पोस्टमा गोल गरेपछि कोलम्बियालाई ठूलो झट्का लाग्यो । उक्त गोलपछि कोलम्बिया खेलमा फर्किन सकेन ।यो नतिजापछि समूह ‘ए’ मा ब्राजिल दुई खेलपछि ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ब्राजिलले दुवै खेल जितेको छ । एकमा जित र एकमा हार बेहोरेको कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ । दुई खेलमा पहिलो जित निकालेको पेरु भने तीन अंकसहित तेस्रो स्थानमा छ ।

आइतबार बिहान नै भएको समूह ‘बी’ को खेलमा भेनेजुएला र इक्वेडरले २–दुई गोलको बराबरी खेल्दै अंक बाँडे । भेनेजुएलाले एक गोलले पछि परेको स्थितिमा गोल गरेर हार पन्छाउँदा इक्वेडर पहिलो खेल जित्नबाट वञ्चित भयो ।रियो दि जेनरियो स्थित स्टेडियो निल्टन सान्तोसमा सोमबार बिहान भएको खेलमा इक्वेडरले दुईपटक अग्रता लिएरपनि जोगाउन नसकेपछि बराबरीको नतिजा आत्मसात गर्नुपरेको हो । इक्वेडरका इडुअर प्रेसिएडो र गोन्जालो प्लाटाले गोल गर्दा भेनेजुएलाका इड्सन कास्टिल्लो र रोनाल्ड हर्नान्डेजले बराबरी गोल फर्काए । पहिलो हाफका एक गोल हुँदा दोस्रो हाफमा तीन गोल भएको थियो ।

खेलको ३९औं मिनेटमा इडुअर प्रेसिएडोको गोलबाट इक्वेडरले अग्रता लिएको थियो । उनले रोबर्ट एर्वाेलेडाको पासमा गोल गरेका थिए । ५१औं मिनेटमा इड्सन कास्टिल्लोले जोस एन्ड्रेस मार्टिनेजको पासमा बराबरी गोल फर्काए । खेलको ७१औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई पुनः २–१ को अग्रता दिलाए । तर, अन्तिम एक मिनेट सम्हालिन नसक्दा इक्वेडर बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोनाल्ड हर्नान्डेजले इड्सन कास्टिल्लोको पासमा गोल गर्दै भेनेजुएलालाई हारबाट जोगाए । यो बराबरीपछि भेनेजुएलाले तीन खेलबाट दुई अंक जोड्दा दुई म्याच खेलेको इक्वेडरले पहिलो अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्