मेडिसिटी अस्पतालद्वारा बालबालिकाको उपचार लक्षित पूर्वतयारी सुरु



न्युज अफ नेपाल, काठमाडौं ।

कोभिड–१९को तेश्रो भेरियन्ट नेपालमा प्रवेश गर्न सक्ने विषयलाई मध्यनजर गर्दै नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्ड र निर्देशनका आधारमा बालबालिकाहरुको सामान्यदेखि सघन उपचारलाई लक्षित गरी नेपाल मेडिसिटी अस्पतालले आफ्नो पूर्वतयारी शुरु गरेको जनाएको छ । नवजात शिशु तथा १८ वर्ष उमेर सम्मका बालबालिकाहरुलाई ध्यानमा राखी अस्पतालले आफ्ना नर्स तथा मेडिकल टोलीलाई विशेष प्रशिक्षणमा सिपिआर पद्धती, आहार बिहार, इन्फेक्सन नियन्त्रण, मनोसामाजिक परामर्श, फिजियोथेरापी तथा पुर्नस्थापना जस्ता विषयलाई प्राथमिकता दिइएको सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी गराईयो ।

दक्ष चिकित्सक तथा मेडिकल टिम, आवश्यक बेड तथा अत्याधुनिक उपकरणहरु, भेन्टिलेटर सहित नवजात तथा बाल सघन उपचार कक्षको व्यवस्था गरी बालबालिकाहरुमा महामारीको अवस्था आए अस्पताल तयारी अवस्थामा अस्पताल प्रशासनको भनाई छ । तेश्रो भेरियन्ट आउनसक्ने पुर्वानुमान भइरहेका बेला आत्तिनुभन्दा यस अवस्थामा बालबालिकाहरुलाई विशेष हेरचाह गर्न, मास्क तथा स्यानिटाइजरको प्रयोगमा प्रोत्साहन गर्न र अनावश्यक रुपमा घरबाहिर ननिस्किन सल्लाह दिईयो ।

महामारी बढ्दै गएको अवस्थामा देशमा विभिन्न स्थानबाट आकस्मिक उद्धार आवश्यक परे त्यसका लागि हवाई तथा ग्राउण्ड एम्बुलेन्स सेवाका प्रदान गर्न प्रि हस्पिटल केयर तथा इमर्जेन्सी विभाग तयार रहेको व्यहोरा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राज राणाले जानकारी गराउनुभएको छ । उहाँका अनुसार बालबालिकाहरुलाई हेलीकोप्टरबाट उद्धार चाहिने खण्डमा विशेषज्ञ चिकित्सकले नै सो स्थानमा गई आवश्यक उपचार गर्दै नेपाल मेडिसिटी सम्म स्थानान्तरण गराउन सक्नेछन् ।

नेपाल सरकारले कुल बेड संख्याको २० प्रतिशत बेड छुट्याउन भनेपनि नेपाल मेडिसिटी अस्पतालले करिब १ सय वटा बेड नवजात शिशिुको सघन उपचार कक्ष एनआईसियू , बालबालिकाको सघन उपचार कक्ष पिआईसियू र सामान्य बेड बालबालिकाहरुकै लागि निर्धारीत गरी त्यसका लागि आवश्यक पर्ने उपकरण, आमा तथा बच्चाका लागि सुरक्षा व्यवस्था, आकस्मिक देखि सघन उपचार र भेन्टिलेटरको व्यवस्था लगायतका तयारी भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्