म्याग्दीका सामुदायिक विद्यालयलाई ९५ प्रतिशत पाठ्यपुस्तक आइपुग्यो



प्रताप बानियाँ, म्याग्दी ।

कोरोना भाइरसको जोखिम, जारी निषेधाज्ञा र बाढीपहिरोको समस्याका बाबजुद हिमाली जिल्ला म्याग्दीमा नयाँ पाठ्यपुस्तक पुगेको छ । चालु शैक्षिक सत्रका लागि विद्यालयलाई आवश्यक ९५ प्रतिशत पाठ्यपुस्तकहरु आइतबार म्याग्दीमा भित्रिएको हो । जिल्लाको कक्षा १–१० मा अध्ययनरत विद्यार्थीहरुलाई आवश्यक पुस्तकहरु सदरमुकाम बेनीमा ल्याइएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनाएको छ । महासंघको पहलमा सदरमुकाम बेनीमा पुस्तक बिक्री डिपो राखेर बेनीबजारबाट बिक्री गर्नेगरी पाठ्यपुस्तक भित्र्याइएको छ ।

जिल्लामा रहेका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने ९५ प्रतिशत पाठ्यपुस्तक आइपुगेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नबराज पौडेलले बताउनुभयो । उहाँले एक करोड १० लाख रुपैयाँ बराबरको १७ सयदेखि २१ सय सेटसम्म पाठ्यपुस्तक जिल्ला भित्रिएको जानकारी दिनुभयो । पाठ्यपुस्तकहरु दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गरिने तयारी थालिएको छ ।

कक्षा १–४ को पाठ्यपुस्तक काठमाडौं र ५–१० को पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र पोखरा डिपोबाट ल्याइएको हो । अहिलेको विषम परिस्थितिमा ४ दिन लगाएर चारवटा ट्रकमार्फत ढुवानी गरी जिल्लामा पाठ्यपुस्तक आयात गरिएको महासंघका अध्यक्ष पौडेलले बताउनुभयो । शिक्षा मन्त्रालयले असार १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न निर्देशन जारी गरेसँगै महासंघको पहलमा ल्याइएको पाठ्यपुस्तक केही दिनमा विद्यार्थीको हात हातमा पु¥याइनेछ ।

विद्यालयहरुको अनुकुलताका लागि जिल्लाका ६ वटा स्थानीय तहलाई दुई/दुई दिनका दरले समय दिएर पुस्तक वितरण गर्ने व्यवस्था मिलाइएको छ । जिल्लाको सबैभन्दा दुर्गम धवलागिरि गाउँपालिकालाई असार ७ र ८ गते, अन्नपूर्ण गाउँपालिकालाई ९ र १० गते, मालिकालाई ११ र १२, रघुगंगालाई १३ र १४ गते तथा मंगला गाउँपालिकालाई १५ र १६ गते पुस्तक वितरण गर्ने तयारी गरिएको छ ।

यसैगरी बेनी नगरपालिकामा सञ्चालित विद्यालयहरुलाई भने उनीहरुको अनुकुलताअनुसार पुस्तकहरु उपलब्ध गराइने महासंघ म्याग्दीले जनाएको छ । जिल्लामा आएको पाठ्यपुस्तक गाउँपालिकाको केन्द्रसम्म पुस्तक व्यवसायी आफैले ढुवानी गर्नेछन् भने केन्द्रबाट सम्बन्धित विद्यालयले आ–आफ्नो विद्यालयसम्म लैजाने छन् । विद्यार्थीहरुलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराएपछि विद्यालय नखुले पनि घरमै बसेर अध्ययन गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीको तथ्याङ्कअनुसार प्रति कक्षा १ हजार ७ सयदेखि २ हजार १ सयको हाराहारीमा पाठ्यपुस्तक उपलब्ध गराइएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा सामुदायिक, संस्थागत, क्याम्पस, अनौपचारिक, धार्मिक र संस्कृत गरी कुल २ सय ६९ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्