सडकबाट ‘मामाघर’ पुगे सात बालक



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा सडक बालबालिकाका रुपमा रहेका ७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामा सन्ध्या लामा (१५), आकाश मलाह (१०), सन्दीप गोले (१३), मुस्कान मलाह (१५), उमेश तामाङ (१८), भीमराज थिङ (१८) र हिमाल लामा (१४) छन् । हेटौंडा–४ स्थित हुप्रचौरको खसला आकाशमुनि बस्दै आएका बालबालिकाको दुःखदायी दैनिकी देखेर धेरै व्यक्ति तथा संघसंस्थाले खाना र कपडा आदि सहयोग गर्ने गरेका थिए । उद्धारको पहल पनि धेरै पटक भएको थियो ।

स्थानीय युवा समाजसेवी सुनिल गिरीले केही दिन अघिदेखि उनीहरुलाई खाजा र खानाको व्यवस्था गर्दै उद्धारमा विशेष पहल गर्नुभएको थियो । ती बालकलाई मामाघर नेपाल संस्थापक अर्पण पराजुलीले बाटोमा लामो समयदेखि परामर्श एवम् खाना/खाजा सहयोग गरिरहनुभएको थियो । धेरै व्यक्ति तथा संघसंस्थाको पहल हुँदा पनि सडकजीवन त्याग्न तयार नभएका बालक आइतबार राति गिरी र पराजुलीसँगको लामो कुराकानीपश्चात् मामाघर जान तयार भएपछि सोमबार पीसीआर परीक्षण गरी बालकहरुलाई मामाघर नेपालमा र एक बालिकालाई माइती नेपालमा संरक्षणका लागि पु-याइएको छ ।

लकडाउनको समयमा बाटोमा अलपत्र अवस्थामा रहेका बालबालिकाको उद्धार गर्न सकिएकोमा समाजसेवी गिरीले खुशी व्यक्त गर्नुभयो । गिरी उनै युवा हुन्, जसले मामाघरमा आश्रित सडक बालकहरुलाई हरेक दशैंमा एउटा खसी उपहार दिँदै आउनुभएको छ । ती बालबालिकाका अभिभावकलाई अविलम्ब सम्पर्कमा आउन मामाघर नेपाल मकवानपुरले अनुरोध गरेको छ । मामाघरले हेटौंडामा सडक बालबालिकाको उद्धार, परामर्श, आवासीय सेवा तथा सुबिधा, शिक्षा, स्वास्थ्य र परिवारिक पुनस्र्थापना गर्दै आएको छ ।

मामाघर नेपाल मकवानपुर कसैको जन्मदिन र विवाह वर्षगाँठ आदि अवसरमा गरिएको सहयोगले सञ्चालन हुँदै आएको छ । दातृ निकायबाट हुने सहयोग र ‘एक व्यक्ति, एक ईंट्टा’ अभियानबाट हेटौंडा–११ मा मामाघर भवन निर्माण गरिएको पराजुलीले बताउनुभयो । समाजसेवी सिद्धीलाल श्रेष्ठले जग्गादान गरेपछि भवन निर्माण गरिएको हो । पूर्वसडक बालबालिकाको आपत्कालीन राहत, उद्धार, परामर्श, पारिवारिक वातावरणमा आवासीय सुबिधा, सिप, शिक्षा र पारिवारिक पुनर्मिलनमा गराउने कार्य मामाघर नेपालको अभियान हो ।

मामाघरले सडक बालबालिकामुक्त समाज निर्माण गर्ने लक्ष्यलाई सार्थक बनाउँदैछ । चोरी, लुटपाट, डेन्ड्राइट सुँघेर हिँड्ने र राति सडकपेटीलाई ओच्छ्यान र आकाशलाई सिरक बनाउँदै आएकाहरुले आश्रय पाएका छन् । ५२ दिन हेटौंडाको सडकमा सडकबालकसँग बसेर अनुसन्धान गर्नुभएका पराजुलीले सरकारी, गैरसरकारी, व्यक्तिगत सबैको सकारात्मक साथ र सहयोग पाउनुभयो । सडक बालकको अनुसन्धानका क्रममा करिब दुई महिना उनीहरुसँगै बिताएर उनीहरुलाई पुनस्र्थापनाका लागि राजी पार्नुप-यो ।

सडक बालबालिकाको दिनचर्या र उनीहरुको सर्वपक्षीय गतिविधि अध्ययनका लागि बोरा ओढेर एक साता रातभर बसपार्कमा बिताउनुभएको थियो पराजुलीले । अनुसन्धानको क्रममा उनीहरुलाई नुहाइदिन राप्ति खोलामा लैजाँदा १४ जनाको शरीरमा एक सय ९६ वटा जुम्रा भेटिएको उहाँले स्मरण गर्नुभयो । ‘एकै जनाको शरीरबाट ९६ वटा जुम्रा फेला परेको थियो,’ उहाँले भन्नुभयो ।

हेटौंडालाई सडक बालबालिकामुक्त सहर बनाउने उद्धेश्यले २०६९ भदौ १३ गतेबाट अभियान सुरु गरिएको थियो । जुन, हाल सडक बालबालिकाको भविष्य खोज्ने स्थल बनेको छ । सडकमा पुगेका बालबालिकाको भविष्य ‘मामाघर’ ले उज्यालो बनाउने प्रयास गरिरहेको छ । सडक बालबालिकाको समूह बिच्छु ग्याङका नाइके सुनसरीका प्रशान्त ढकालले ‘मामा’ भनी सम्बोधन गरेपछि पराजुलीसँग जोडिएको मामाको साइनो अरुतिर पनि सरेको छ । हेटौंडा क्षेत्रमा उहाँलाई चिन्नेहरु जुनसुकै उमेर, तह र तप्काका भए पनि ‘मामा’ भनी सम्बोधन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्