ट्रयाक खुलेको दुई दशकपछि सडक कालोपत्रे गर्ने अभियान



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वत जिल्लामा ग्रामिण सडकमा ट्रयाक खुलेको दुई दशक पछि कालोपत्रे गर्ने अभियान शुरु भएको छ । पर्वत जिल्लाको सदमुकाम कुस्माबजारलाई दक्षिण संग जोड्ने देखि हरेक वडाको केन्द्र भाग सम्म पुग्ने दर्जनौ ग्रामिण सडक कालोपत्रे गर्ने अभियान शुरु भएको हो । उनीहरु निर्वाचित भएर कम्युनिष्ट सरकार बनेको ३ बर्षको अवधिमा नै जिल्लामा सडक सञ्जालमा देखिने गरी परिर्वतन भएको छ । सडक खनिएको २० बर्ष पछि कालोपत्रे भएका सडकहरुले ग्रामीण क्षेत्रको मुहार फेरेका छन् ।

पर्वतमा ग्रामिण सडक सञ्जाल सुधार आयोजनाले २ वटा सडक कालोपत्रेको गरिरहेको छ । लमायखोला देखि लुंखु हूँदै हुवास जोड्ने सडक र अर्मादी खुर्कोट बनौ सडकको कालोपत्रे काम धमाधम भैरहेको छ । बाँकी सडकहरुमा संघले प्रदेशमा हस्तान्तरण गरेका सडक र प्रदेश आफैले निर्माण कार्य शुरु गरेका सडक गरी अहिले जिल्लामा १ दर्जन सडकहरुमा कालोपत्रो बिच्छाउने गरी काम भइरहेको छ । जलजलामा माझफाँट देखि लेकफाँट बनौ जोड्ने सडकको डिपिआर तयार गरी ठेक्का सम्झौतामा जाने गरी तयारी भएको छ । मिलन चोक देखि धाइरिङ पुग्ने सडकको निर्माण कार्य भइरहेको छ ।

कुश्मा नगरपालकामा कुश्मा दुर्लुङ सडकको निर्माण कार्य सकिएको छ भने, पाङ र खुर्कोट जाने दुवै सडकको निर्माण कार्य भइरहको छ । दोविल्ला देखि ठुलिपोखरी देखि कार्किनेटाको सडकको अधिकांश भाग कालोपत्रे भइसकेको छ ।पर्वतमा २०५४ सालमा स्थानीय निकायको निर्वाचन जितेर आएका जनप्रतिनिधिहरुले ग्रामिण सडक सञ्जालको खाका कोरेका थिए । जिल्ला बिकास समितिका तत्कालिन सभापति तथा हाल राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा जिल्ला सडक गुरुयोजना तयार गर्दै सडकको खाका कोर्ने काम थालिएको थियो ।

जिल्लाकै पहिलो सडकको रुपमा दोविल्ला–फलेवास सडक खनिएको थियो । यो सडक पछि २०५४/५५ सालमा हिलेखोला–कार्किनेटा हुँदै लुंखु सडकको विस्तार गरियो । सडक सजालमा पहिलो पल्ट ग्रामीण क्षेत्रमा सवारी सञ्चालन हुने सडक भने यहि सडक हो । स्याङजा देखि कार्किनेटा हुँदै लुंखुसम्मको सडक पुरा भएसंगै यो सडकमा सवारी साधन आजभन्दा २४ बर्ष अघि देखि सञ्चालनमा आएका हुन् । बहुमत स्थानीय निकायमा एमालेले जित हासिल गरेका कारण एमालेको नेतृत्वमा गठन भएको जिल्ला विकास समितिले त्यो बेलामा सडक गुरुयोजना निर्माण गरेको समितिका उप सभापति टिकाराम भुसालले बताउनुभयो ।

जिविसकै गुरु योजना अनुसार पहिलो प्राथमिकतामा कार्किनेटा– लुंखु सडकको विस्तार भयो । सोहि अवधिमा दोविल्ला फलेवास सडकको पनि विस्तार गरिएको थियो । जिविसकै गुरुयोजना अनुसार मिलनचोक–माझफाँट बाँसकर्ख पुग्ने सडक पनि सोहि अवधिमा खनिएको पूर्व उपसभापति भुसालको भनाई छ । सडक सञ्जालको गुरुयोजनाकै आधारमा जिविसले फलेवास देखि बाच्छा र खौला देखि कार्किनेटासम्मको ट्रयाक्क खोल्ने काम गरेको थियो । उता, कार्किनेटा देखि दोविल्लासम्मको खण्ड ०५९ सालमा खनिएको हो ।

प्रतिक्रिया दिनुहोस्