आँखाजाँच मेसिनलाई १० लाख



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा सामुदायिक आँखा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाबाट आँखाजाँच गर्ने मेसिन खरिद गर्न सहयोग प्राप्त भएको छ ।आँखाजाँच मेसिन खरिदका लागि उपमहानगरले १० लाख रुपियाँ सहयोग प्रदान गरेको हो । नगर प्रमुख हरिबहादुर महतले नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठ एवम् अस्पताल प्रमुख डा। सुनिल थकालीलाई चेक हस्तान्तरण गर्नुभयो ।

मकवानपुर र आसपासका जिल्लाहरुबाट आँखाजाँच गर्न मानिसहरु आउने गरेकोमा मेसिनको अभावमा ढिला भएको जानकारी भएपछि विशुद्ध सामाजिक सेवामा केन्द्रित भएर लागेको संस्थालाई सहयोगभावले रकम हस्तान्तरण गरिएको मेयर महतले बताउनुभयो । नगर प्रमुख महतले आँखा अस्पतालले पु¥याउँदै आएको सेवा प्रशंसनीय रहेकाले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

आइतबार उपमहानगर मेयर महतले मेसिन खरिद गर्न चेक हस्तान्तरण गरेपछि अस्पतालको ठूलो समस्या हल भएको छ । मेसिन नहुँदा पहिलेदेखि नै बिरामी जाँच गर्न आउँदा लाइनमा बस्नुपर्ने बाध्यता रहेको र अब भने उक्त बाध्यता हट्ने अस्पताल प्रमुख डा। थकालीले बताउनुभयो ।

अस्पताल प्रमुख डा। थकालीले सहयोग रकमबाट अस्पतालले टोपकोन कम्पनीको जापानीज मेसिन खरिद गरेको जानकारी गराउँदै अस्पतालसँग भएका मेसिन पुरानो हुँदै जाँदा नयाँ मेसिनले बिरामीको उपचारमा सहयोग हुने बताउनुभयो ।

आँखा अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले हेटौंडा उपमहानगरपालिकाबाट वार्षिकरुपमा आँखा स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्न सहयोग प्राप्त भइरहेको र यस वर्ष अस्पतालका लागि आवश्यक उपकरणका लागि थप सहयोग प्राप्त भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्