प्रहरी छापापछि अखबार बिक्री ह्वात्तै बढ्यो



हङकङ, (एजेन्सी) । 

हङकङका वासिन्दा शनिबार प्रजातन्त्र हिमायती दैनिक अखबार ‘एप्पल डेली’ किन्न झुम्मिएका छन् । अघिल्लो दिन मात्र सो अखबारको समाचार कक्षमा प्रहरीले छापा मारेको थियो । सो अखबारको पहिलो पृष्ठमा प्रहरी तथा प्रशासनबाट भएको अनावश्यक हस्तक्षेपको विरोधमा ठूलो अक्षरमा ‘हामीले दबाब दिइरहनै पर्छ’ भन्ने सन्देश छापिएको छ ।

अरू बेला दैनिक करिब ८० हजार प्रति छापिने एप्पल डेलीको अत्यधिक मागका कारण शनिबार पाँच लाखप्रति छापिएको छ । न्युज स्ट्यान्डहरूमा सम्पूर्ण अखबार हाताहातै बिक्री भएको बताइएको छ ।हङकङको विवादास्पद नयाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत एप्पल डेलीका दुईजना कार्यकारिणी अधिकारीलाई प्रहरीले गिरप्mतार गरेपछि यसको कार्यालयमा छापा मारिएको हो ।

अहिलेसम्म पक्राउ पर्ने अखबारका कुल कार्यकारिणी अधिकारीको संख्या पाँच पुगेको बताइएको छ । प्रधान सम्पादक-यान ल र प्रमुख कार्यकारिणी अधिकारी छेयुङ किम हङविरुद्ध यसअघि नै मुद्दा दायर भइसकेको छ ।प्रहरीले प्रमुख प्रबन्ध अधिकारी चो तात–कुयन, वरिष्ठ उप–सम्पादक छान पुई मान र प्रमुख कार्यकारिणी सम्पादक छेयुङ छि वाईमाथि थप अनुसन्धान भइरहेको बताएका छन् ।गत वर्ष चीनले आफ्नो विशेष प्रशासकीय क्षेत्र हङकङमा सो कानुन लागू गरेयता अर्बपति लाईलगायत दर्जनौं प्रभावशाली अभियन्तालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्