भक्तपुर ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि हुने प्रहारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध प्रतिवाद गर्नुपर्ने बताए । उनले राष्ट्रिय जागरण अभियानलाई त्यसैको तयारीका रूपमा लिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा लाखौँ जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि चुनौती देखिएको भन्दै उनले देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ धकेल्ने प्रयास भइरहेको दाबी गरे ।
दाहालले शान्ति सम्झौताको मर्म र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्नेमा जोड दिए । साथै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि नयाँ सङ्कल्पसहित आन्दोलनमा उत्रिनुपर्ने बताए ।
उनले सुकुम्बासी, आदिवासी जनजाति, दलित र महिलालगायत समुदायको अधिकार, हित र पहिचानको रक्षा गर्नुपर्ने उल्लेख गर्दै संविधान, लोकतन्त्र, गणतन्त्र र समावेशिताको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।








तपाईंको विचार लेख्नुहोस्