बाँझो जमिनमा तितेपाती खेती



अमृत अर्याल, स्याङ्जा ।

औषधीको रुपमा प्रयोग हुने तितेपातीको व्यवसायीक रुपले खेती गर्न शुरु गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको व्यवसायीकताको बारेमा थाहा नपाएर खेर गैरहेका बेला स्याङ्जाकी एक महिला यसलाई व्यवसायीक रुपले खेती गर्न लाग्नु भएको छ ।

पुतलीबजार नगरपालिका १४ आमडाँडाकी सुनिता क्षेत्रीले अहिले जापनीज जातको तितेपाती खेतबारीमा लगाउन शुरु गर्नुभएको छ । लकडाउनले गर्दा क्षेत्रीले संचालन गरेको हस्तकला व्यवासय बन्द भएपछि बाँझो जमिनमा तितेपातीको खेती शुरु गर्नुभएको हो । बजारको ग्यारेन्टी पाएपछि क्षेत्रीले करिब २ महिनादेखी बाँझो जमिनमा तितेपाती खेती शुरु गरेको बताउनुभयो ।

महिला उद्यमी समेत रहेकी क्षेत्रीले अन्य बालीनाली बाँदरले नष्ट गरेपछि खेती गर्न छाडेको जमिनको सदुपयोग गरेको बताउनुभयो । विभिन्न जिल्लामा तालिम दिएर धेरै महिलालाई उद्यमी बनाउन सफल क्षेत्री अहिले तितोपाती खेतीलाई व्यवसायीक बनाउने अभियानमा जुट्नुभएको छ । बाँदरको समस्याले गर्दा खेतवारी बाँझो राख्न बाध्य थियौ क्षेत्रीले भन्नुभयो, तितेपातीको बिक्रि गर्ने जिम्मेवारी काठमाण्डौ स्थित एक कम्पनीले लिएको छ । खेतबारी बाँझो राख्न भन्दा यसबाट आम्दानी हुन्छ भने किन नलगाउने भनेर खेती शुरु गरेको क्षेत्रीको भनाई छ । क्षेत्रीले अहिले १० रोपनी जमिनमा तितेपाती लगाउनु भएको छ ।

आयुर्वेदिक औषधीका रुपमा प्रयोग हुने तितेपाती दुई दुई महिनामा काट्न मिल्ने जानाकारी दिनुभयो । काठमाडौंमा रहेको एक कम्पनी मार्फत तितेपाती जापान निर्यात गरिदै आएको छ । यसको धुलो बनाएर जापान पठाउने गरिएको क्षेत्रीले बताउनुभयो । अहिले स्याङ्जाका हरेक बस्तीमा बाँदर आतङ्क छ । बाँदरले अन्नवाली नष्ट गरिदिएपछि मानिसहरुले वालीनाली नलगाएर खेतवारी बाँझै राख्न थालेका छन् । बाँदरले नष्ट नगर्ने उत्पादन जिल्लाका बाँदर पिडित किसानका लागि यो तितेपातीको खेती उत्तम हुने क्षेत्रीको सुझाब छ । यो पाती नेपालमा पाईने भन्दा अलि चाम्रो र पछाडीको भाग सेतो रङ्गको हुन्छ ।

सुकाएको तितेपाती ५० रुपैया किलोमा बिक्रि हुने गरेको छ । क्षेत्रीले शुरु गरेको तितेपातीले साच्चिकै सफलता मिल्यो भने बाँदरले पनि नष्ट नगर्ने र कुनै किराले पनि आक्रमण नगर्ने भएपछि यो खेती फलदायी हुने विश्वास गरिएको छ । चुरा, पोतेको डिजाईन बनाउन महिलाहरुलाई तालिम दिने उद्यमी महिलाले तितेपाती लगाएकोमा छिमेकीहरु पनि दङ्ग परेका छन् । आर्थिक आयमुलक केही काम गर्छु भन्ने महिलाहरुका लागि स्थानीय सरकारले कुनै चासो नदिएको क्षेत्रीको गुनासो छ । आफ्नै मेहनतले केही गर्नुपर्छ भन्ने ध्येय बोकेकी क्षेत्रीले व्यवसायमा धैर्यता र लगनशीलता हुनुपर्ने बताउनुहुन्छ ।

गण्डकी प्रदेशबाट युवा प्रतिभा पुरस्कार २०७७ मा छनोट भएकी क्षेत्रीले महिलालाई उद्यमी बनाउन सके मात्रै समृद्धि हुने दावी गर्नुभयो । महिला उद्यमशिलताको तालिम दिदै आएकी क्षेत्रीले तितेपातीलाई व्यवसायीक रुपमा गरेको खेतीका लागि स्थानीय सरकारले पनि सहयोग गर्न आवश्यक देखिएको छ । आयुर्वेदीक औषधीका लागि उपयोगी हुने भएकाले यसको बजारको ग्यारेन्टी रहेको आयुर्वेद चिकित्सकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्