कोरोना खोप: हेटौंडामा पाइन्न, गाउँमा फालाफाल



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा कोरोनाविरुद्ध खोपको हाहाकार छ । सरकारले लक्षित वर्ग तोकेर पठाएको खोप उनीहरुले नै पाएका छैनन् । बरु, निजी क्लिनिकमा केही नेता, कार्यकर्ता र उनका आफन्तले खुसुक्क लगाउन पाए ।

सरकारले तोकेको मापदण्डअनुसार ६२ वर्ष पुग्न ३ महिनामात्र बाँकी रहेकाले नेपाली नागरिकताको प्रमाणपत्र लिएर केन्द्रमा जाँदा पनि लगाउन नपाएको खोप हेटौंडामा उपमहानगरकी उपमेयरको कार्यकक्षमै पार्टीका कार्यकर्तालाई खुसुक्क लगाइयो ।

पहुँचका आधारमा उपमेयर मीनाकुमारी लामाको चेम्बरमा गोप्यरुपमा खोप लगाइएको भेटिएको हो । सरकारले ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई मात्र लगाउन तोकेर पठाएको कोरोना भाइरसविरुद्ध खोप भाग्यमानी तन्नेरी कार्यकर्ताले लगाएका थिए ।
हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले खोप लगाउने आकांक्षी धेरै भएकाले उपमेयरको कार्यकक्षमा लुकेर खोप लगाइएको स्वीकार गर्नुभएको थियो । उहाँले वडा सदस्य र उपमेयरका आफन्तले खोप लगाउन दबाब दिएका भन्दै उपमेयरले खोप लगाइदिन निर्देशन दिएपछि १३ जनालाई गोप्यरुपमा खोप लगाएको स्वीकार गर्नुभयो ।

चौलागाईंले भन्नुभयो–खोपकेन्द्रमा भिड हुने र वडाबासीलाई खोप प्राथमिकता दिनुपर्ने भएकाले वडाध्यक्ष र वडा सदस्यहरुले नगरपालिका आउँदा खोप लगाउनुभएको हो । अरुलाई खोप लगाइएको छैन । जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला प्रशासनलाई जानकारी नै नदिएर उपमेयरलाई ४० वटा खोप उपलब्ध गराएको थियोे ।

हेटौंडामा कोरोना भाइरसविरुद्ध खोप लगाउन हानथाप भए पनि मकवानपुरका बिकट गाउँका लक्षित उमेर समूहका ज्येष्ठ नागरिकले भने खोप लगाउन रुचि देखाएका छैनन् । उनीहरु खोप लगाउनु पर्ला र खोपकै कारण मर्ने हल्लाका कारण केही निहुँ बनाएर घरबाट भागेका छन् ।

खोपबारेको भ्रम हटाउन स्थानीयस्तरमा प्रयास गरिए पनि स्थानीय बृद्धलाई सम्झाउन निकै सकस भएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । ‘खोप लगाउन आउन भनेपछि जंगलतिर भाग्छन् गाउँले,’ उहाँले भन्नुभयो–पहिलो डोज त दुई सय जनाले पनि लगाएनन् । पालिकाका स्वास्थ्य संयोजक विजय कापरीका अनुसार स्वास्थ्य कार्यालयले पालिकाका लागि पहिलो डोज ९ सय वटा पठाएको थियो । तीमध्ये करिब ५ सय वटा त फिर्ता नै भयो । २ सय वटा आएको दोस्रो डोजमा ३९ वटा फिर्ता गरिएको छ । ‘कहिल्यै खोप नलगाएकाहरु डरका कारण खोप लगाउन नचाहेको देखिएको छ,’ उहाँले भन्नुभयो ।

दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा पठाइएको खोप स्वास्थ्य कार्यालयमा धमाधम फिर्ता हुन थालेका छन् । बिकट गाउँमा कोरोनाको खोप लगाए मरिन्छ भन्ने भ्रम छ । खोप लगाउन स्वास्थ्यकर्मी र आफूहरुले धेरै सम्झाउँदा पनि उनीहरुले मान्ने नगरेको पालिका अध्यक्ष मल्लले बताउनुभएको छ ।

पालिका–७, धिराङस्थित स्वास्थ्य चौकीमा २० वटा खोप पठाइएकोमा ११ जनाले मात्र लगाए । खोप लगाउन आउन भने पनि एक बृद्ध त त्यही दिन भागेर छोरीको घर चितवनतर्फ गएको छिमेकीले सुनाए । बिकटमा रहेको शीलाधुनीस्थित स्वास्थ्य चौकीमा २० ज्येष्ठ नागरिकका लागि खोप पठाइएकोमा आधा खोप फिर्ता भयो । स्वास्थ्य चौकी प्रमुख सूर्यबहादुर थिङले जिल्लाका अन्य दुर्गम भेगमा पनि अवस्था उस्तै रहेको बताउनुभयो ।

मकवानपुरमा खोपको उचित व्यवस्थापन हुन नसकेको देखिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मकवानपुरमा पहिलो खोप लगाएका सबैलाई दोस्रो चरणको खोप अपुग भएकाले समस्या भएको बताउनुभएको छ । प्रजिअ पाण्डेले पहिलो चरणको खोप लगाउने १५ हजार भन्दा बढी भएको तर आएको दोस्रो चरणको खोप कम भएकाले सबैलाई लगाउन प्राविधिक समस्या भएको गुनासो गर्नुृभयो ।

हेटौंडामा उपलब्ध कोभिसिल्ड दोस्रो खोप उमेर समूह र लक्षित समूहलाई केन्द्रित गरिएको छ भने भेरोसेल पहिलो खोप उमेर समूहलाई केन्द्रित गरिएको छ । पालिकास्तरीय खोप समन्वय समिति र जिल्लामा जिल्ला खोप समन्वय समितिले खोप संयोजन गरिरहेको बताउँदै प्रजिअ पाण्डेले भन्नुभयो–खोप चाहनेको संख्या धेरै छ तर उपलब्ध खोप कम छ । त्यसैले केही कठिनाइ परेको हो । पछिल्लो समय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले खोप दुरुपयोग गरेको भन्दै स्वास्थ्य कार्यालयले मौज्दात रहेको खोप बितरणमा ढिलाइ गरेको छ । फागुनमा पहिलो डोज पाएकाहरुले यही कारण हालसम्म दोस्रो डोज पाएका छैनन् ।

सरकारले जेठ २५, २६ र २७ मा देशभर ६२–६४ वर्षका ज्येष्ठ नागरिकका लागि भेरोसेल खोप दिने अभियान चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्