पनौतीमा कृषकलाई ८ सय ६ वटा पाडी वितरण



मोतीराम तिमल्सिना, काभ्रे । 

पनौती नगरपालिकाले चाल आर्थिक वर्षमा नगर तथा संघ सरकारको बजेट मार्फत ५ सय ६ पाडी/थोरे कृषकहरुलाई उपलब्ध गराएको छ । नगरको बजेटबाट ३ सय ६ र संघ सरकारको बजेटबाट २ सय पाडी उपलब्ध गराईएको हो ।

‘‘भैसी प्रर्वद्धन गर्ने उदेश्यले दुई वर्षमा ८ सय ६ वटा पाडी कृषकहरुलाई उपलब्ध गराईएको छ’– पनौती नगरपालिका कृषि तथा पशु पक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटाले भन्नुभयो–‘आउँदो वर्ष कृषक अडिट कार्यक्रम मार्फत थप ब्यवस्थित गरिनेछ । भैसीका अलावा, लैनो गाई, बाख्रा, बोका, राँगा अनुदानमा उपलब्ध गराउने योजना बनाईएको छ । चालु वर्षमा केहि हस्तान्तरण गरिनेछ ।’ नगरपालिकाले ४० वटा लैनो गाई, १ सय ५० वटा बाख्रा र १० वटा बोका हस्तान्तरण गर्ने शाखा प्रमुख सापकोटाले बताउनु भयो । उन्नत जातको लैनो गाई आगामी वर्ष पनि वितरण गरिनेछ । गत वर्ष बाख्रा १ सय वटा र बोका ७ वटा वितरण गरिएको थियो । कुखुरापालन तथा पशुपक्षी र कृषि क्षेत्रका लागि विशेष प्राथमिकतामा बजेट निर्माण गर्न लागिएको सापकोटाले बताउनु भयो । पनौती नगरपालिकाले आगामी असार ७ गते नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

चालु वर्षको पाडी वितरणको समापन कार्यक्रम वडा नम्वर ९ सुन्थानमा गरिएको थियो । वडा अध्यक्ष सहकुलकुमार हुमागाईले १६ जना कृषकलाई चालु वर्षको अन्तिम समयमा पाडी उपलब्ध गराउन नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गरिएको बताउनु भयो । यस अघि नगरपालिकाको तर्फबाट वडामा ६७ वटा पाडी, ५३ वटा बाख्रा, ३ वटा बोका वितरण गरिसकिएको उहाँले बताउनु भयो । वडाको बजेट मार्फत कृषि तथा पशुपंक्षी कार्यक्रमलाई प्राथमिकतामा राखी पूर्वाधार बाहेक स्थानीय नागरिकहरुको आय श्रोत बृद्धी गर्न आयआर्जनका कामलाई प्राथमिकतामा राखिएको उहाँले बताउनु भयो । कृषि र पशुपालनको जागरण आवश्यक रहेको वडा अध्यक्ष हुमागाईले बताउनु भयो ।

उपप्रमुख गिता बञ्जाराले पनौती नगरपालिकालाई कृषि र पशुपालनबाट आर्थिक समृद्ध हासिल गर्ने उदेश्यले हरेक वर्ष भैसी प्रर्वद्धन कार्यक्रमसँगै ब्यवसायीक पशुपालनमा जोड दिएको बताउनु भयो । नगरपालिकाले हरेक नागरिकहरुलाई कुनै न कुनै रुपले समृद्ध बनाउने योजना अनुरुप भैसी पाल्ने कृषकहरुका लागि ७५ सय रुपैया लिएर पाडी उपलब्ध गराएको उपप्रमुख बञ्जाराले बताउनु भयो । अनुदानसँगै त्यसको अनुगमन र सम्झौता बेगर गर्ने कृषकलाई कारवाही गरिएको छ । पनौती नगरपालिकाले भैसी सुत्केरी भत्ता उपलब्ध गराउँदै आएको छ । भैसीपालन ब्यवसायलाई आर्कषण गर्दै सम्मानित ब्यवसाय बनाउने उदेश्यले विमा, अनुदान, सहुलियत र प्रविधि हस्तान्तरण गर्दै आएको नगरपालिकाले जानकारी दिएको छ । गत वर्ष अनुदानमा उपलब्ध गराईएको पाडीहरु मध्ये एउटा सुत्केरी भएको छ ।

नगरपालिकाले भैसीपालन ब्यवसायको प्रर्वद्धनसँगै गुणस्तरीय दुग्ध उत्पादनमा चासो दिएको नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो । दुग्ध उत्पादन, प्रशोधन र विक्री वितरणमा समेत प्रविधिमैत्री र नागरिकमैत्री बन्ने गरी कार्यक्रम संचालन गरिएको नगर प्रमुख न्यौपानेले बताउनु भयो । भैसी प्रवृद्धन कार्यक्रमका लागि गत वर्ष संघ सरकारले २० लाख रकम विनियोजन गरेको थियो भने चालु वर्षमा ५० लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्