अर्जेन्टिनाले चिलीसँग अंक बाँड्यो



लन्डन, (एजेन्सी) । 

ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा दुई उपाधि दाबेदार टिम अर्जेन्टिना र चिलीले अंक बाँडेका छन् ।

मंगलबार बिहान भएको समूह चरणको पहिलो खेलमा यी दुई टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले पहिलो हाफमा बनाएको अग्रता बचाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । ब्राजिलको ओलम्पिक रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसीले खेलको ३३औं मिनेटमा फ्रिकिकमार्फत् शानदार गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । डीबक्सभन्दा केही बाहिर अर्जेन्टिनाले फ्रिकिक पाएको थियो, जसमा मेसीले पोस्टको माथिल्लो बार च्याप्दै हानेको प्रहारले उत्कृष्ट ढंगले सोझै जाली चुमेको थियो । चिलियन गोलकिपर क्लाउडियो ब्राभोले मेसीको फ्रिकिक रोक्न प्रयास गरे पनि सकेनन् । मेसीले फ्रिकिकमा गोल गर्नुअघि अर्जेन्टिनाले दुई सहज अवसर खेर फालेका थिए ।

तुलनात्मकरूपमा अर्जेन्टिनाले पहिलो हाफमा चिलीविरुद्ध चर्को दबाब बनाएको थियो । तर, दोस्रो हाफमा खेल बदलियो । खेलमा अर्जेन्टिना फितलो हुँदै गयो र चिलीले खेल आफ्नो पकडमा लिँदै गयो । चिलीले अर्जेन्टिनाविरुद्ध आक्रमण मात्रै बढाएन, बलसमेत आफ्नो पकडमा ज्यादा राख्न सफल भयो । अर्जेन्टिना दोस्रो गोलको खोजीमा रहेका खेलको ५७औं मिनेटमा चिलीले पेनाल्टी पायो । डीबक्समा अर्जेन्टिनी खेलाडी लौटारो मार्टिनेजले चिलीका मिडफिल्डर आर्टुरो भिडाल बललाई फ्लाइङ सट गर्न लाग्दा फाउल गरेर लडाएपछि रेफ्रीले चिलीलाई पेनाल्टी दिए ।रेफ्रीले भिएआरमा निकै समय लगाएर फाउल र अवस्थाको समीक्षा गरेर चिलीलाई पेनाल्टी दिएका थिए, जसमा भिडाल आफंैले पेनाल्टी प्रहार गरे । तर, उनको प्रहार अर्जेन्टिनी गोलकिपर मार्टिनेजले शानदार रोकेका थिए । उनले छेकेको बल रिबाउन्ड भएर आएकोमा अगाडि रहेका इडुआर्डो भर्गासले हेडिङमार्फत् बललाई जाली चुमाएपछि खेल १–१ भयो । भर्गासले ह्यान्ड बल गरेको भन्दै अर्जेन्टिनी खेलाडीले अपिल गरे पनि रेफ्रीले भिएआरमार्फत् जाँच गरेर मात्रै गोलको मान्यता दिएका थिए ।

त्यसपछि, दुवै टिमले बाँकी समयभरि चर्को दबाब बनाएर आक्रामक खेल खेले पनि दुवै तर्फबाट थप गोल हुन सकेन र खेल १–१ को बराबरीमा सकियो । प्रतियोगिताअन्तर्गत मंगलबार बिहानै भएको अर्को खेलमा पाराग्वेले शानदार विजयी शुरूवात ग-यो । समूह चरणको आफ्नो पहिलो खेलमा पाराग्वेले बोलिभियामाथि ३–१ को शानदार जित निकाल्दै प्रतियोगितामा सुखद् शुरूवात गरेको हो । ब्राजिलको इस्टाडियो ओलम्पिको पेड्रो लुडोभिचो रंगशालामा भएको खेलमा पाराग्वेले पछि परेको अवस्था उल्टाएर तीन गोल गर्न सफल भयो ।बोलिभिया पहिलो हाफको इन्ज्युरी समयमा १० खेलाडीमा सीमित भएको थियो । डिफेन्डर जाउमे कुलेर दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडेपछि बोलिभिया १० खेलाडीमा खुम्चिएको थियो । त्यसअघि, खेलको १०औं मिनेटमै बोलिभियाले पेनाल्टीमार्फत् खेलमा अग्रता बनाएको थियो । सो गोल इर्विन साभेर्डाले गोल गरेका थिए । सोही गोलको मद्दतमा बोलिभियाले पहिलो हाफमा १–० को अग्रता बनायो ।

तर, दोस्रो हाफमा पराग्वेले शानदार कमब्याक गर्न सफल बनायो । पाराग्वेले खेलको तीन मिनेटको बीचमा तीन गोल गरेर खेल फर्काएको थियो । ६२औं मिनेटमा अलेजान्द्रो रोमेरोले गोल गरेर खेल १–१ को बराबरी बनाए । त्यसपछि, पाराग्वेका लागि एन्जल रोमेरो नायक बने । उनले त्यसपछि दुई गोल गरे । ६५औं मिनेटमा उनले व्यक्तिगत पहिलो गोल गरे भने ८०औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल बोलिभियाले ३–१ ले जित्यो । यो जितसँगै बोलिभिया समूह ‘बी’ को शीर्ष स्थानमा रहन सफल भएको छ । यसै समूूहको पहिलो खेलमा अर्जेन्टिना र चिलीले १–१ को बराबरी खेलेर अंक बाँड्दा पाराग्वेले समूहको शीर्ष स्थान ओगटेको हो ।

प्रतिक्रिया दिनुहोस्