युवतीको हत्यापछि अङ्गभङ्ग गर्नेलाई मृत्युदण्ड



न्युयोर्क, (एजेन्सी)

युवतीको हत्यापछि अङ्गभङ्ग गरी आत्महत्याको प्रयास गर्ने एक पुरुषलाई न्युयोर्कको अदालतले मृत्युदण्ड सुनाएको छ । टिन्डरमार्फत भेटिएकी युवतीको हत्यापछि अंगभंग गर्ने तथा सोही अपराधको सिलसिलामा अदालतमा कारवाही अघि बढिरहेकै अवस्थामा आफ्नो घाँटी काट्ने अमेरिकाको नेव्रास्काका एक पुरुषलाई यसै साता मृत्युदण्ड सुनाएको हो ।

पेशेवर चोर तथा ठग ५४ वर्षीय अब्री ट्रेलले सन् २०१७ मा २४ वर्षीया सिड्नी लुफेलाई बिजुलीको तारले घाँटी कसेर हत्या गरेका थिए । त्यसपछि शवलाई १४ टुक्रा पारेर उनले ग्रामीण सडक छेउछाउका ढलमा फ्याँकेका थिए ।मुद्दाको सुनवाइको क्रममा अदालतमा साक्षीहरूले ट्रेल र उनकी २७ वर्षीया गर्लफ्रेन्ड बेली बोस्वेल आफूहरूलाई सामूहिक यौन सम्पर्कका लागि अनुरोध गर्ने गरेको तथा हत्याबाट शक्ति पाउने जादु–टुनाबारे कुरा गर्ने गरेको बयान दिएका थिए ।

लुफेकी एक जना साथीले अपराध अनुसन्धानकर्ताहरूलाई आफू र लूफेबीच भएको अन्तिम सामाजिक सञ्जाल पोस्ट देखाएपछि आंशकित अपराधीहरूको पहिचानमा मद्दत पुगेको थियो । लुफेले स्न्यापच्याटमा ‘म डेटका लागि तयार’ शीर्षक राखेर आफ्नो सेल्फी सेयर गरेकी थिइन् । त्यतिबेला उनी बोस्वेलसँग दोश्रोपटक भेट्ने तयारीमा थिइन् ।

निर्णय सुनाउने क्रममा न्यायाधीश विकी जोहन्सनले टेलको दिमाग र मनमा मानव जीवनप्रति रत्तिभर पनि दयामाया नरहेको जनाएका छन् । सामूहिक यौन, लागुऔषधका प्रयोग र चोरिएका प्राचीन कलाकृति बेच्ने गरेको बताए पनि लुफेले अस्वाभाविक व्यवहार देखाउँदा आफू उनको हत्या गर्न बाध्य भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्