सानो समूहले विश्वको भाग्य तोक्ने दिन गइसक्यो:चीन

कोइला प्रयोग निरुत्साहित गरिने



लन्डन, (एजेन्सी) । 

विश्वको शक्तिशाली औद्योगिक राष्ट्र समूह जी सेभेनको बेलायतको कोर्नवालमा भइरहेको शिखर बैठकले विश्वकै सबैभन्दा ठूलो वातावरणीय समस्यामध्ये एक जलवायु परिवर्तनविरुद्ध संघर्ष गर्ने क्रममा कोइला इन्धनबाट चल्ने ऊर्जा केन्द्रहरूमाथि कडा कदम चाल्ने सहमति जुटाएको छ ।

जी सेभेन समूहले कार्बन उत्सर्जन गर्ने अत्याधुनिक प्रविधि प्रयोग नगर्ने कल कारखानाविरुद्ध कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । बेलायती पत्रकार तथा प्राकृतिक इतिहासकार सर डेभिड फ्रेडरिक एटेनवर्गले मानव जाति सम्पूर्ण पृथ्वी नै ध्वस्त पार्ने स्थितिमा रहेको भनेर चेतावनी दिएपछि जी सेभेनको जलवायु परिवर्तनसम्बन्धी यस्तो प्रतिक्रिया आएको हो । एटेनवर्गले मानव इतिहासमै जी सेभेनका नेताहरूले सबैभन्दा महŒवपूर्ण निर्णयको सामना गर्नुपरेको बताएका छन् । कोइलासम्बन्धी घोषणा अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसबाट आएको हो । पहिलोपटक धनी राष्ट्रहरूका नेताहरूले विश्वव्यापी तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

यसका लागि विशेषगरी कोइला प्रयोग नियन्त्रणलगायत तत्काल थुप्रै नीतिको कार्यान्वयन हुनु जरुरी रहेको छ । वातावरणविद्हरूले कोइलालाई विश्वकै सबैभन्दा फोहर इन्धनको श्रोत मान्ने गरेका छन् । यसैगरी, जी सेभनेले विकासोन्मुख मुलुकहरूमा नयाँ कोइला उत्पादन परियोजनाका लागि आर्थिक सहयोग नगर्ने तथा यसको प्रयोग रोक्नका लागि २ अर्ब अमेरिकी डलर खर्च गर्ने भएको छ ।यता चीनले मुलुकहरूको एउटा सानो समूहले विश्वकै भाग्यबारे निर्णय गर्ने जमाना उहिल्यै गइसकेको भन्दै जी सेभनेका नेताहरूलाई चेतावनी दिएको छ ।राजनीतिक विश्लेषकहरू अमेरिकी राष्ट्रपति जोय बाइडेन विश्वमा बढिरहेको चिनियाँ प्रभावविरुद्ध पश्चिम जगतलाई एकजुट गराउन कटिबद्ध रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्