स्याङ्जामा असार ७ गतेसम्म निषेधाज्ञा थपियो



अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जामा ५औं पटक निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमणको दर ग्रामिण क्षेत्रका बस्तीमा बढ्दो रुपमा देखिएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक साताका लागि निषेधाज्ञा थपेको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालयले असार ७ गतेसम्म जिल्लाभर निषेधाज्ञा थप गरेको छ । संक्रमण न्युनिकरणको एक मात्र उपाय भनेको निषेधाज्ञा नै हो भन्दै प्रशासनले असार ७ गते सम्मका लागि बढाएको हो । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सूचना जारी गर्दै पहिलोपटक बैशाख २१ गते बिहान ६ बजेदेखि शुरु भएको निपेधाज्ञा पुन असार ७ सम्मको लागि थप गरिएको बताउनुभयो ।

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारीे गर्ने निर्णय गरेको प्रजिअ नेपालले जानकारी दिनुभयो । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप जिल्लाभर ७ दिने निषेधाज्ञा थप गरिएको हो । थपिएको निषेधाज्ञामा कुनै नयाँ निर्देशन नआएपनि सो अवधीमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ । थप गरिएको निषेधाज्ञालाई कडाईका साथ लागु गरिने दावी प्रशासनले गरेको छ । जिल्लामा निषेधाज्ञाका समयमा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न बाहेक अनावश्यक हिँडडुल गर्न नपाइने व्यवस्था छ । अत्यावश्यक खाद्यान्न लगायतका पसलहरु बिहान ५ देखि ११ बजेसम्म दिनको एकपटक मात्र खोल्न पाईन्छन् ।

औषधी तथा औषधालयहरु, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षींका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र प्रशासनबाट अनुमति प्राप्त सवारी साधनलाई भने रोक लगाइएको छैंन् ।

मठ, मन्दिर तथा बिभिन्न धार्मिक कार्य वा विहेवारीमा १५ जना भन्दा बढी सहभागी हुन पाइने छैन । सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा प्रयोग गर्नुपर्नेछ । आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने समेत प्रशासनले जनाइएको छ ।

कोरोनाको दोस्रो लहर चलेसँगै जिल्लामा हालसम्म ९३ ले ज्यान गुमाएका छन भने दुई हजार ९ सय २९ जना संक्रमित मध्ये ९ सय ३० सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म १ हजार ८ सय ८६ जना कोरोना जितेर निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार होम आइसोलेनमा ९ सय ३० जना, अस्पतालको आइसोलेसन सेन्टरमा ३७ जना र विभिन्न स्वास्थ्य संस्थामा ७३ जनाको उपचार भइरहेकोे छ । सक्रिय संक्रमित र निको हने संक्रमित बराबरीको हाराहारीमा आएकाले अब केही हदसम्म संक्रमण न्युनिकरण हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्