अफ्रिकी महिलाले १० शिशु जन्माइन्



जोहान्नेसवर्ग, (एजेन्सी) । 

एकैपटक आठजना शिशु जन्माउने आशा गरिएकी दक्षिण अफ्रिकाको एक गर्भवती महिलाले १० जना शिशुलाई जनम दिएकी छन् । उनको यो कार्यले नयाँ विश्व कीर्तिमान राख्न सक्ने विश्वास गरिएको छ । एकुरहुलेनीको टेम्बिसा शहर निवासी तेवोहो सोतेत्सीले आफ्नी ३७ वर्षीया पत्नी गोसियामे थामारा सिथोलले प्रिटोरियाको एउटा अस्पतालमा १० जना शिशु जन्माएको बताएका छन् ।

उनले प्रिटोरिया न्युजलाई भनेका छन्– ‘शुरूमा डाक्टरहरूले उनको पेटमा ६ वटा शिशुका भ्रूण रहेको बताएका थिए । पछि तिनीहरूले परीक्षणको क्रममा दुईवटा छुटेको रहेछ भनेर आफ्नो भनाइ सच्याए । तर, डाक्टरहरूले सर्जरिन गरेर बच्चा जन्माउँदा १० वटा बच्चा निस्केपछि सबै छक्क परेका थिए । सात महिना र सात दिन गर्भवती अवस्थामा रहेका बेला उनले सात जना छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् ।’ यी दम्पतीले सिथोल कुनै पनि उर्वरता उपचारबिना गर्भवती भएको स्पष्ट पारेका थिए ।

सिथोल आफ्नो अनुभव यसरी सुनाउँछिन्– ‘आफूबाट ६ जना शिशुको जन्म हुँदैछ भन्ने थाहा पाएपछि म आफ्नो गर्भाधारणलाई लिएर आश्चर्यमा परेकी थिएंँ । मैले भगवान्सँग केवल मेरा सबै बच्चा सकुशल र जीवित जन्मियून भनेर प्रार्थना गरेको थिएँ ।’सेफाको माक्गाथो हेल्थ साइन्सेज युनिभर्सिटीको स्कुल अफ मेडिसिनका उपाध्यक्ष प्राध्यापक डिनी मावेलाले उर्वरताको उपचारबिना यसरी धेरै शिशुको जन्म हुनु दुर्लभ घटना भएको बताउँछन् । साथै, मावेलाले ती शिशुहरूलाई केही दिन इन्क्युवेटरमा राखेर उपचार गराइने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्