पाकिस्तानमा रेल जुध्दा ३६ को मृत्यु



इस्लामावाद, (एजेन्सी) ।

दक्षिणी पाकिस्तानमा सोमबार बिहान दुईवटा यात्रुवाहक ट्रेन आपसमा ठोक्किँदा कम्तिमा ३६ जना मानिसको ज्यान जानुका साथै अन्य दर्जनौं घाइते भएका छन् । सरकारी अधिकारीहरूका अनुसार सिन्ध प्रान्तको डहारी क्षेत्रमा एउटा ट्रेन लिकबाट उछिटिएर अर्को ट्रयाकमा बज्रिन पुगेको र त्यसपछि यात्रुले टन्न भरिएको अर्को ट्रेन त्यसमाथि ठोकिएर पल्टिएको हो ।

उद्धार टोलीले तत्कालै घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा पु-याएको सञ्चार माध्यमले जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।कराँची शहरबाट आइरहेको मिल्लत एक्सप्रेस लिकबाट उछिट्टिएको थियो । रावलपिन्डीबाट आइरहेको सर सयद एक्सप्रेस ट्रेन त्यसमाथि ठोक्किएर पल्टिएको थियो ।

पाकिस्तानमा पटक–पटक ट्रेन दुर्घटना दोहोरिने गरेको छ । सन् २०१३ देखि २०१९ बीच ट्रेन दुर्घटनामा १ सय ५० जनाको ज्यान गएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । अझै दुर्घटनाग्रस्त ट्रेनको भग्नावशेषमा कतिजना यात्रु फसेका छन् भनेर बताउन नसकिने घोक्टी जिल्लाका वरिष्ठ सरकारी अधिकारी उस्मान अब्दुल्लाहले बताएका छन् ।प्रधानमन्त्री इमरान खानले यस दुर्घटनाप्रति शोक व्यक्त गर्दै घटनाको पूर्ण छानबिन हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्