भारतीय नौसैनिक जहाजहरू राहत सामग्री ओसार्दै



इन्डिया न्युज नेटवर्क नेपाल ।

भारतीय पूर्वी नौसेना कमान्डका आईएनएस ऐरावत भियतनाम र सिंगापुरबाट क्रायोजेनिक अक्सिजन ट्यांकर, अक्सिजन सिलिन्डर तथा भेन्टिलेटरसहित अन्य कोभिड राहत सामग्री लिएर बिहीबार विशाखापटनम आइपुगेको छ ।

यो ‘समुद्र सेतु–२ अभियान’ अन्तर्गत भएको कार्य हो । जुन अभियान भारतीय नौसेनाले कोभिड राहत सामग्रीको ढुवानीका लागि आरम्भ गरेको थियो । कोभिड–१९ विरुद्ध राष्ट्रको लडाइँमा समर्थनस्वरूप विभिन्न देशमा भरिएका मेडिकल अक्सिजन क्रायोजेनिक ट्यांकर, सिलिन्डर र सम्बन्धित चिकित्सा उपकरणहरू ल्याइएका छन् ।यस अभियानका क्रममा आईएनएस ऐरावतले भारतीय मिसनको सहयोगमा भियतनाम र सिंगापुरबाट सात क्रायोजेनिक अक्सिजन ट्यांकरमा १ सय ४० मेट्रिक टन तरल मेडिकल अक्सिजन, ३ हजार ८ सय ९८ वटा अक्सिजन सिलिन्डर, १ सय वटा भेन्टिलेटर र अन्य कोभिड–१९ राहत सामग्री लिएर आएको छ ।

यो राहत सामग्री विभिन्न सरकारी निकाय तथा गैरसरकारी संस्थाहरूलाई हस्तान्तरण गरिएको छ ।कोभिड–१९ विरुद्ध राष्ट्रको लडाइँमा समर्थन तथा सहयोग गर्न र समुद्र सेतु अभियानको द्वितीय भागको रूपमा, सात भारतीय नौसैनिक जहाज कोलकाता, कोच्ची, तलवार, टाबर, त्रिकान्ड, जलाशवा र ऐरावतलाई विभिन्न देशबाट तरल चिकित्सा मेडिकल अक्सिजनले भरिएको क्रायोजेनिक कन्टेनर र सम्बन्धित उपकरणहरू ल्याउन तैनाथ गरिएको थियो ।फारसी खाडीमा तैनाथ आईएनएस कोलकाता र आईएनएस तलवार पहिलो समूह थिए । तिनीहरूलाई तुरुन्तै यस कार्यको लागि सञ्चालनमा ल्याइएको थियो । यी जहाजहरू गत ३० अप्रिलमा बहराइनको मनामा बन्दरगाहमा प्रवेश गरेका थिए ।यदि, आवश्यक परेमा भारतीय नौसेनाका थप जहाजहरू कोभिड–१९ लडाइँमा देशको सहयोग गर्न तैयारी अवस्थामा रहेका छन् ।

यी जहाजहरू कुनै पनि परिस्थितिमा समुद्री शक्तिसँग लड्ने क्षमता राख्दछन् । तसर्थ, यिनीहरूले कुनै पनि आपतकालीन कार्य पूरा गर्न सक्छन् ।स्मरणीय छ, गत वर्ष नौसेनाले अपरेसन समुद्र सेतु–१ सुरू गरेको थियो । र कोभिड–१९ को प्रकोपको बीचमा छिमेकी मुलुकमा फसेका करिब ४ हजार भारतीय नागरिकलाई सफलतापूर्वक भारत फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्