विदेशी चलचित्र हेरेमा मृत्युदण्ड दिइने



प्योङयाङ, (एजेन्सी) ।

उत्तर कोरियाले हालै मुलुकलाई विदेशी प्रभावबाट बचाउनका लागि नयाँ तथा निकै कडा कानुन तर्जुमा गरेको छ । अबदेखि कोही–कसैले विदेशी चलचित्र हेरेको, लुगा लगाएको वा विदेशी ठेट शब्द प्रयोग गरेर बोलेको भेटिएको खण्डमा मृत्युदण्ड दिइन सक्ने सरकारी सूत्रले जनाएको छ ।‘युन मिसो’ नामक एक उत्तर कोरियाली महिलाले आफू एघार वर्षकी छँदा आफूले पहिलोपटक दक्षिण कोरियाली नाटक हेरेकै भरमा एक पुरुषलाई मृत्युदण्ड दिइएको देखेको बताएकी छन् ।

सोलस्थित आफ्नो घरबाट उनले बीबीसीसमक्ष सो घटना यसरी सम्झेकी छन्, ‘ती अभियुक्त भनिएका पुरुषका सम्पूर्ण छिमेकीलाई उनलाई सार्वजनिक स्थलमा दिइएको मृत्युदण्ड हेर्न आउन सरकारले आदेश दिएको थियो । नआउनेहरूलाई राष्ट्रद्रोहीको अभियोग लगाइने चेतावनी दिइएको थियो । उत्तर कोरियाली सेनाले अवैध भिडियो तस्करी गर्दा मृत्युदण्ड दिइन्छ भन्ने सबैलाई सूचित गर्न चाहेको थियो । मलाई अझै स्पष्ट याद छ । ती मानिसको आँखामा पट्टी बाँधिएको थियो । तर, उनको गालामा आँसु चुहिरहेको थियो । हात पनि बाँधिएको उनलाई गोली हानेर मृत्युदण्ड दिइयो ।’

इन्टरनेट र सामाजिक सञ्जाल नभएको उत्तर कोरियामा केही सरकार नियन्त्रित टेलिभिजन च्यानल मात्र छन् ।उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनले लागू गरेको यस नयाँ कानुनअनुसार यस्ता कार्यमा अपराधी ठहरिनेहरूलाई ‘प्रतिक्रियावादी विचारवादी’ को संज्ञा दिइने गरिएको छ ।थुप्रै परिमाणमा जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका सञ्चार सामग्रीसहित पक्राउमा पर्ने जो कोहीलाई पनि अबदेखि सीधै मृत्युदण्ड दिइने भएको छ ।यसैगरी, त्यस्ता सामग्री हेरेको पाइएमा १५ वर्ष लामो कारावास सजायँ भोग्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्