विदेशी चलचित्र हेर्नेलाई मृत्युदण्ड दिइने



प्योङयाङ, (एजेन्सी)

उत्तर कोरियाले हालै मुलुकलाई विदेशी प्रभावबाट बचाउनका लागि नयाँ तथा निकै कडा कानुन तर्जुमा गरेको छ । अब देखि कोहि कसैले विदेशी चलचित्र हेरेको, लुगा लगाएको वा ठेट शब्द प्रयोग गरेर बोलेको भेटिएको खण्डमा मृत्युदण्ड दिइन सक्ने सरकारी सुत्रले जनाएको छ । युन मिसो नामक एक उत्तर कोरियाली महिलाले आफु एघार वर्षकी छँदा आफुले पहिलो पटक दक्षिण कोरियाली नाटक हेरेकै भरमा एक पुरुषलाई मृत्युदण्ड दिइएको देखेको बताएकी छन् ।

सोलस्थित आफ्नो घरबाट उनले बीबीसी समक्ष सो घटना यसरी सम्झेकी छन् , ‘ती अभियुक्त भनिएका पुरुषका सम्पूर्ण छिमेकीलाई उनलाई सार्वजनिक स्थलमा दिइएको मृत्युदण्ड हेर्न आउन सरकारले आदेश दिएको थियो । नआउनेहरुलाई राष्ट्रद्रोहीको अभियोग लगाइने चेतावनी दिइएको थियो । उत्तर कोरियाली सेनाले अवैध भिडियो तस्करी गर्दा मृत्युदण्ड दिइन्छ भन्ने सबैलाई सुचित गर्न चाहेको थियो ।मलाई अझै स्पष्ट याद छ । ति मानिसको आँखामा पट्टी बाँधिएक थियो । तर उनको गालामा आँसु चुहिरहेको थियो । हात पनि बाँधिएको उनलाई गोली हानेर मृत्युदण्ड दिइयो । ’

इनटरनेट र सामाजिक सञ्जाल नभएको उत्तर कोरियामा कही सरकार नियन्त्रित टेलिभिजन च्यानल मात्र छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले लागू गरेको यस नयाँ कानुन अनुसार यस्ता कार्यमा अपराधी ठहरिनेहरुलाई ‘ प्रतिक्रियावादी विचारवादी ’ को संज्ञा दिइने गरिएको छ । थुप्रै परिमाणमा जापान , संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका संचार सामग्री सहित पक्राउमा पर्ने जो कोहीलाई पनि अबदेखि सिधै मृत्युदण्ड दिइने भएको छ । यसैगरी त्यस्ता सामग्री हेरेको पाइएमा १५ वर्ष लामो कारवास सजाय भोग्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्