जर्मनीमा नक्कली खोप प्रमाणपत्रको बिगबिगी



वर्लिन, (एजेन्सी) ।

कालो बजारमा देखिएका कोरोना भाइरसविरुद्ध खोप दिइएको नक्कली प्रमाणपत्रको बिगबिगी रोक्ने उद्देश्यले जर्मन प्रहरी बलले एक विशेष सुरक्षा टोली गठन गरेको छ ।

कोललोन शहरका प्रहरीले सञ्चार माध्यम एआरडीलाई भनेको छ– ‘ठगहरूले एन्क्रिप्टिड मेसेन्जर सेवामार्फत सञ्चार गरिरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको छ । यसले राष्ट्रिय समस्याकै रूप लिइसकेको छ । केही मानिसलाई यस्तो प्रमाण पत्र उपलब्ध गराउने वाचासहित तिनीहरूले जनही १ सय २२ अमेरिकी डलर उठाएर भागेको घटनाहरू पनि सार्वजनिक भइरहेको छ ।युरोपेली संघ (ईयू) भरि भ्रमणलाई सहज बनाउनका लागि कोभिड पासपोर्ट वितरण गर्ने कार्य भइरहेको छ । त्यसका युरोपेली औषधि निकाय (ईएमए ) द्वारा अनुमोदित कोभिडको खोप लगाइएको हुनुपर्छ । जोहन्सन एन्ड जोहन्सनको खोपलगायत अन्य कुनै पनि मान्यताप्राप्त कोरोना भाइरस विरुद्धका दुवै डोज खोप केही साता वा महिना फरक पारेर लगाइसकेकाहरूलाई मात्र त्यस्तो विशेष पासपोर्ट दिइने गरिएको छ ।

यसैका लागि जर्मनीका कालोबजारमा कोरोनाको खोप लगाइएको नक्कली प्रमाणपत्रको कारोबार हुने गरेको छ । जर्मनीमा ४४ प्रतिशतभन्दा बढी वयष्कहरूले कम्तिमा एक डोज खोप र कुल जनसंख्याको १८ प्रतिशतभन्दा बढीले दुवै डोज लिइसकेको आवर वल्र्ड इन डाटाले जनाएको छ । यसरी कोभिड मुक्त भएको प्रमाणको रूपमा खोपको प्रमाण पत्र पेस गर्नेहरूलाई रेस्टुरेन्ट लगायतका अन्य स्थानमा जाने छुट दिइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्