प्रहरीलाई छक्याउन खोज्दा आफैं फसियो


न्युयोर्क, एजेन्सी ।

अमेरिकाको न्युयोर्कस्थित लन्ग आइलन्ड एक्स्प्रेस वेमा यात्रुबिना सवारी साधन चलाउन नपाइने कारपूल लेनमा प्रहरीलाई छक्याउन खोज्ने एक जना ट्याक्सी ड्राइभर प्रहरीको फन्दामा परेका छन् । २० वर्षीय ‘जस्टिन कनिस’ नामक ती ड्राइभरले न्युयोर्कको फोक्स ५ मा ट्याक्सी चलाउने क्रममा यात्रु बस्ने सिटमा यात्रु भएको जस्तो देखाउन थियटरमा प्रयोग हुने सेतो मास्क बाँधेका थिए ।

अमेरिकाका थुप्रे राज्यका एचओभि लेनमा एक्लै सवारी हाँक्ने ड्राइभरलाई ठूलो परिमाणमा आर्थिक जरिवाना तिराइने गरिएको छ । कनिसलाई कति रकम जरिवाना गरिएको भन्ने स्पष्ट पारिएको छैन । तर, न्युयोर्कमा यस्तो अपराध गरेबापत न्युनतम एक सय अमेरिकी डलर तिर्नुपर्दछ । उनलाई सफोल्क काउन्टी प्रहरी विभागले गिरफतार गरेको हो ।

गत फ्रेबुअरीमा पनि क्यालिफोर्नियामा यस्तै लेनमा साँच्चिकै मानिसजस्तै देखिने डमी बसाएर कार चलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । सो डमीलाई चेक सर्ट, क्लेभल्यान्ड इन्यिन बेसबल क्याप र मास्क लगाइएको थियो । ती व्यक्तिले प्रहरीलाई सफाइ दिने क्रममा आफू विगत डेढ वर्षदेखि नै त्यो डमिसँग त्यसरी नै कार चलाउँदै आएको कुरा बताएको ‘इस्ट वे टाइम्स’ले जनाएको छ ।