बालबालिकामाथि निगरानी राख्ने स्मार्ट ल्याम्प



बेइजिङ, एजेन्सी ।

अहिले चीनका अभिभावकहरू दुईवटा सर्भेलियन्स क्यामेराजडित १ सय २० अमेरिकी डलर पर्ने स्मार्ट ल्याम्प किन्न व्यस्त छन् । आफ्ना सन्तानमाथि तिनीहरूले गृहकार्य गरिरहँदा निगरानी राख्ने उद्देश्यले यो ल्याम्पको माग बढेको हो । ल्याम्पमा भएका दुईवटा क्यामेरा स्मार्ट फोनमा कनेक्ट गरेर टाढैबाट आमाबुबाले सन्तानको गतिविधिमाथि नजर राख्न सक्नेछन् ।

यो ल्याम्पको निर्माण टिकटकका मालिक बाइट डान्सले गरेका हुन् । यसले चीनको ४० अर्ब अमेरिकी डलरको अनलाइन शिक्षा बजारमा प्रवेश गर्दै छ । ‘दि वाल स्ट्रिट जर्नल’का अनुसार ‘दाली स्मार्ट’ नामक यस ल्याम्पको अघिल्तिर र माथिल्लो भागमा जडित दुईवटा क्यामेराका कारण अभिभावकले आफ्ना सन्तानका अनुहार र होमवर्क दुवै सजिलै देख्न सक्छन् । यो ल्याम्प गत अक्टोबरमा सार्वजनिक गरिएको हो ।

ल्याम्पमा जडित आइफोन आकारको स्क्रिनमार्फत बालबालिकाले आफ्ना अभिभावक वा शिक्षकसँग च्याट गर्न सक्छन् । साथै, यसमा शब्दावली र गणितको समस्या समाधानका लागि आर्टिफिसियल इन्टेलिजेन्स शक्ति प्राप्त डिजिटल सहयोगी पनि जडान गरिएको छ । व्यस्त अभिभावकहरूलाई ध्यानमा राखेर यो ल्याम्प बनाइएको हो । यसै ल्याम्पको अलि महँगो खालको संस्करण अर्थात् १ सय ७० डलर पर्ने ल्याम्पले बालबालिका गृहकार्य गर्ने क्रममा निदाएको खण्डमा अलर्ट र तस्वीरहरूसमेत पठाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्