तेश्रोलिंगी महिला तथा बालिकामाथि खेलकुद बन्देज



वासिङ्टन, एजेन्सी

यस वर्ष अमेरिकाको सरकारी विद्यालयहरूमा आयोजना हुने महिला खेलकुद प्रतियोगितामा तेश्रोलिंगी बालिका तथा महिलालाई प्रतिबन्ध लगाउने फ्लोरिडा पछिल्लो राज्य भएको छ । यस राज्यका गभर्नर रोन डिसान्टिसले मंगलबार यससम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् ।

यस नयाँ कानुनअनुरूप अबदेखि तेश्रोलिंगी महिला तथा बालिकाले आफ्नो जन्मदर्ता प्रमाणपत्रमा ‘जैविक लिंग’ उल्लेखितहरूको टोलीमा खेल्नुपर्नेछ ।तर, महिला तथा पुरुष समलिंगी, बहुलिंगी एवं तेश्रोलिंगीहरूको समूह एलजीबीटीले यस कानुन पक्षपातीपूर्ण भएको भन्दै यसविरुद्ध कानुनी चुनौती दिने चेतावनी दिएको छ । एलजीबीटी समुदायको वार्षिक दिवस मनाइने गौरव महिनाको रूपमा चिनिने अर्थात् जुनको पहिलो दिन नै डिसान्टिसले यस विधेयकमा हस्ताक्षर गरेका हुन् ।

ज्याक्सनभिल्ले शहरको एउटा क्रिस्चियन स्कुलमा विधेयकमाथि हस्ताक्षर गर्ने क्रममा डिसान्टिसले भनेका छन्– ‘हामीले अब विद्यालयहरुमा आयोजना हुने खेलकुद प्रतियोगिताहरूको सम्मान संरक्षित हुनु धेरै महवपूर्ण रहेको विश्वास गरेका छौं । हामीले खेलकुदको मामिलामा सिद्धान्तगतभन्दा जैविक आधारमा जान लागेको छौं ।’डेमोक्रेटिक अमेरिकी राष्ट्रपति जोय बाइडेनको सरकारको समर्थनप्राप्त एलजीबीटी नीतिहरूविरुद्ध रिपब्लिकन नेतृत्वको राज्यहरूले दिने गरेको दबाबको उदाहरणस्वरूप यो कदम चालिएको हो ।

प्रतिक्रिया दिनुहोस्