‘बुढ्यौली र उमेर’ शब्दै बिर्सेर १०६ वर्षीया वृद्धा छमछम नाच्दै



सिडनी, (एजेन्सी) ।

१ सय ६ वर्षको उमेरमा आइलिन क्रामर अझै बढी सक्रिय र फूर्तिलो देखिएकी छन् । अस्ट्रेलियाको सिडनीस्थित वृद्धाश्रममा उनी दिनको एउटा कथा लेख्छिन् र उनले पुस्तकहरू प्रकाशित गरिरहेकी छन् । हालै मात्र उनले अस्ट्रेलियाकै सबैभन्दा प्रतिष्ठित चित्रकला प्रतियोगितामा भाग लिएकी छन् । दशकौंसम्म विदेशमा बसेकी उनी ९९ वर्षको उमेरमा आफ्नो गृहनगर सिड्नी फर्केकी थिइन् ।

त्यसबेलादेखि नै उनले अन्य कलाकारहरूसँग मिलेर आफ्नो प्रतिभा र शौखको रूपमा रहेको नृत्यसम्बन्धी थुप्रै भिडियो पनि बनाउँदै आएकी छन् ।क्रामर अहिले पनि निकै सुन्दर ढंगले नाच्छिन् । उनले नाच्दा विशेषगरी शरीरको कम्मरभन्दा माथिल्लो भागको सहाराले कलात्मक तरिकाले नाटकीय भावभंगी प्रकट गर्छिन् । तर, उनी आफूमा यति धेरै काम गर्न कहाँबाट जाँगर आयो होला भनी आफैंलाई प्रश्न गर्छिन् ।

यस्तो बुढेसकालमा पनि यसरी नाच्न सक्नुको रहस्यबारे सोचिरहन्छिन् । उनले आफ्नो मानसपटलबाटै ‘बुढ्यौली’ र ‘उमेर’ भन्ने शब्द नै हटाइसकेको कुरा मुस्कुराउँदै भन्छिन् ।उनी कोभिडको लकडाउनमा पनि आफूलाई कथा लेख्नमा व्यस्त राखेको र कोभिडको चिन्तासमेत नलिने गरेको बताउँछिन् । उनले गत नोभेम्बरमा आफ्ना साथीभाइ र आफन्तसँग आफ्नो १०६औं जन्मदिन मनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्