सूचना चुहिँदा आमनरसंहार रोकियो



कर्भिल्ले, (एजेन्सी) ।

अमेरिकाको टेक्सासको स्थानीय प्रशासनले एउटा वाल्मार्टमा आमनरसंहार गर्ने योजना बुनेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । आशंकित २८ वर्षीय कोलम्यान थोमस ब्लेभिन्सको घरमा छापा मार्दा थुप्रो परिमाणमा विस्फोटक पदार्थ गोली फेलापरेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी कर्र काउन्टी प्रहरी विभागले शुक्रबार गिरफ्तार गरिएको उनीविरुद्ध आतंककारी धम्की दिएर जनमानसमा सांघातिक हमलाको सन्त्रास पैदा गरेको अभियोग लगाइएको जानकारी दिएको छ ।अनुसन्धानकर्ताहरूले बिहीबार ब्लेभिन्सले आमनरसंहारका तयारी गरिरहेको तथा उनको लक्ष्य वाल्मार्टमाथि केन्द्रित रहेको भन्ने सूचना प्राप्त गर्न सफल भएका थिए । उनको घरबाट हतियारलगायत अतिवादी आदर्शसँग सम्बन्धित पुस्तक, झण्डा र हस्तलिखित दस्तावेजलगायत अन्य विद्युतीय उपकरणहरूसमेत बरामद भएको छ ।

उनी यसअघि नै अन्य कुनै अपराधका कारण प्रहरी निगरानीमा रहेका थिए ।तर, उनीसँग बन्दुक भने नभएको बताइएको छ । उनी एकपटक सान एन्टोनियो देखि करिब १ सय १३ किमी उत्तर–पश्चिममा पर्ने कर्भिल्ले शहरको कर्र काउन्टी जेल परिसकेको पनि अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्