पेरुमा कोरोनाबाट मर्नेको संख्या पूर्वउल्लेखित भन्दा दोब्बर



लिमा, (एजेन्सी) ।

पेरुमा अहिलेसम्म सार्वजनिक भएको कोभिड संक्रमित मृतकको संख्याभन्दा वास्तविक संख्या दोब्बर भएको पर्दाफास भएको छ । फलस्वरूप जनसंख्याको आधारमा पेरु विश्वकै कोरोना भाइरसको कारण मर्नेको दर सबैभन्दा धेरै भएको मुलुक बनेको जोह्न्स होप्किन्स युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ ।

सच्चिएको नयाँ तथ्यांकअनुसार पेरुमा अहिले आधिकारिक मृतकको संख्या १ लाख ८० हजार नाघेको छ । करिब ३ करोड ३० लाख जनसंख्या रहेको यस मुलुकमा यस अघिसम्म मृतकको संख्या ६९ हजार ३ सय ४२ उल्लेख गरिएको थियो ।तर, प्रधानमन्त्री भायोलेटा बर्मुडेजले पेरुभियन र अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सल्लाहअनुसार यो संख्या बढाइएको प्रतिक्रिया दिएकी छन् । उनले यो अधिकतम मृतक तथ्यांक भएको र जनतालाई अद्यावधिक सूचना दिनु सरकारको कर्तव्य भएको पनि बताएकी छन् ।

पेरुमा नयाँ राष्ट्रपतीय चुनाव हुनुभन्दा ६ दिन मात्र अगाडि अर्थात् सोमबार सरकारले यो नयाँ तथ्यांक सार्वजनिक गरेको हो ।यस चुनावमा वामपन्थी नेता पेद्रो क्यासिल्लो र दक्षिणपन्थी उम्मेदवार केईको फुजिमोरीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । पेरु कोरोना भाइरसको अत्यन्तै कडा चपेटामा परेका ल्याटिनी अमेरिकी मुलुकहरूमध्ये एक हो । फलस्वरूप महामारी उच्च अवस्थामा पुग्दा त्यहाँको स्वास्थ्य स्याहार प्रणाली धराशायी हुनुको साथै अक्सिजन आपूर्तिको ठूलो अभाव भएको थियो । त्यहाँ कुल १९ लाख जनता संक्रमित भएका थिए ।पेरुका चिकित्सा महासंघका अध्यक्ष गोदोफ्रेडो तालाभेराले मृतकको संख्या बढ्नु आश्चर्यको विषय नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्