ग्रिक अक्षरअनुसार कोरोना भेरियन्टको नामाकरण



न्युयोर्क, (एजेन्सी) ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ का भेरियन्टहरूलाई नयाँ प्रणालीअनुसार नामाकरण गरिने घोषणा गरेको छ । अबदेखि डब्ल्युएचओले संयुक्त अधिराज्य, दक्षिण अफ्रिका र भारतमा पहिलोपटक देखिएका भेरियन्टहरूलाई ग्रिक अक्षरले नामाकरण गरिने भएको छ । उदाहरण स्वरूप बेलायती, दक्षिण अफ्रिकी र भारतीय भेरियन्टलाई क्रमशः ‘अल्फा’, ‘बिटा’ र ‘डेल्टा’ नाम दिइएको छ ।

डब्ल्युएचओले यसले छलफल गर्दा सरल तरिकाले नाम लिन सकिने तथा दिएका नामकै कारण कहिँकतै कसैले पनि लज्जा तथा अपमानबोध हुनुनपर्ने पनि जनाएको छ ।यसै महिनाको शुरूमा गत वर्षको अक्टोबरमा भारतमा पहिलोचोटि फेला परेको भेरियन्ट ‘बि.१.६१७.२’ लाई ‘इन्डियन भेरियन्ट’ भनिएकोमा भारतीय सरकारले कडा आलोचना गरेको थियो । हुन त डब्ल्युएचओले कहिल्यै पनि औपचारिक रूपमा त्यो नामाकरण गरेकै थिएन ।डब्ल्युएचओको कोभिड–१९ प्राविधिक विभागका अध्यक्ष मारिया भ्यान कर्खोभले ट्विट गरेकी छन्, ‘अबदेखि कुनै पनि मुलुकले भेरियन्टको नामकै कारणले अपमानबोध गर्नुपर्ने छैन । ती भेरियन्टमाथि स्वस्थ निगरानी राख्न र तिनीहरूलाई फैलिन नदिन वैज्ञानिक तथ्यांक आदान–प्रदान गर्न आग्रह पनि गर्दछु ।’

भेरियन्टलाई सम्बोधन गरिने ग्रिक अक्षरहरू भेरियन्टको सन्त्रास र सचेतनासूचक हुने बताइएको छ । डब्ल्युएचओको वेबसाइटमा तिनीहरूको नाम सूची प्रकाशित गरिएको छ ।तर, ती ग्रिक अक्षरहरू विद्यमान कुनै पनि भेरियन्टको वैज्ञानिक नामसँग जुधाइने छैन । अहिलेसम्म औपचारिक रूपमा २४ वटाभन्दा बढी भेरियन्टको पहिचान भइसकेको छ । सोमबार एकजना वैज्ञानिकले बेलायती सरकारलाई बेलायतमा ‘डेल्टा’ भेरियन्टका कारण तेश्रो चरणको महामारी शुरुआती चरणमा रहेको बताएका छन् । तुलनात्मक रूपमा यो भाइरस अल्फा अर्थात् युके उर्फ केन्ट भेरियन्टभन्दा छिटो सर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्