युएसबी र सिडी बेच्नेलाई मृत्युदण्ड



प्योङयोङ, एजेन्सी ।

उत्तर कोरियाली सरकारले दक्षिण कोरियाली चलचित्र, संगीत भिडियो र नाटक रहेका युएसबी र सिडीहरू अवैध ढंगले बिक्री गरेको अभियोगमा एक पुरुषलाई गत २५ अप्रिलमा सार्वजनिकस्थलमा मृत्युदण्ड दिएको नर्थ कोरिया डेलीले जनाएको छ ।

दक्षिण कोरियास्थित एउटा गैरआयमूलक संस्थाले नर्थ कोरिया डेलीको सो खबर आफ्नो भित्री सञ्जालमार्फत सार्वजनिक गरेको हो । विश्वस्त सूत्रका अनुसार वोन्सान खेती व्यवस्थापन आयोगमा प्रमुख इन्जिनियरको हैसियतले कार्यरत ‘ली’ नामक ती व्यक्तिलाई सरकारले समाजवाद विरोधी तत्वको संज्ञा दिएको छ । उनलाई करिब ४० दिनअघि प्रहरीले पक्राउ गरेको थियो । उनको घर नजिकका राजनीतिक नेताकी छोरीले उनले गोप्य तरिकाले ती वस्तु बिक्री गरिरहेको देखेपछि सम्बन्धित निकायलाई खबर गरेकी थिइन् । उत्तर कोरियामा यदि कुनै पनि देखेका अवैध गतिविधि उजुरी नगरेको पाइएको खण्डमा पनि सात वर्ष कैद संजायको व्यवस्था छ ।

गान्गवन प्रान्तमा करिब पाँच सय व्यक्तिको भिडसामु उनलाई फायरिङ स्कवाडले गोली हानेर मारेको थियो । यस्तै अभियोगमा मृत्युदण्ड पाउने उनी सो प्रान्तकै पहिलो व्यक्ति हुन् । लीबाट यस्ता अवैध चिज खरिद गर्नेहरूको पनि खोजी भइरहेको छ । यही व्यवसायमा संलग्न रहेको आरोपमा अन्य २० जना व्यापारीलाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्