भियतनामले बृहत् पीसीआर परीक्षण नीति अपनायो



हनोई, एजेन्सी ।

भियतनामले कोभिड–१९ को नयाँ महामारी रोकथाम तथा नियन्त्रणका लागि होचिमिन्ह शहरमा जोखिम समूहमा रहेकाहरूको बृहत् पीसीआर परीक्षण नीति अपनाएको छ । साथै, सरकारले नयाँ सामाजिक दूरी नियमलाई अनिवार्यरूपमा पालना गर्न जनतालाई आह्वान गरेको छ । एउटा धार्मिक मिसनसँगको सहकार्यमा यी प्रयासहरू गरिन लागेको हो ।

विगतमा भियतनाम कोरोना भाइरस संक्रमण दरलाई काबुमा राख्न सफल रहेको थियो । तर, पछिल्ला केही सातायता संक्रमणको घटना तीव्ररूपमा बढिरहेको पाइएको छ । हालै मात्र भियतनामी सरकारी अधिकारीहरूले इन्डियन र युके भेरियन्ट मिलेर बनेको तथा हावाले समेत सार्न सक्ने नयाँ खतरनाक भेरियन्ट भेटिएको खुलासा गरेका हुन् ।शुरुमा युके भेरियन्टबाट म्युटेसन भएर बनेको नयाँ इन्डियन भेरियन्ट निकै खतरनाक रहेको बताइएको थियो ।अब छिट्टै नै यस नयाँ भेरियन्टको आनुवंशिक स्वरूप र तथ्यांक सार्वजनिक गरिने पनि सरकारी सूत्रले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार दक्षिणपूर्वी एसियाली मुलुक भियतनाममा यसअघि सात प्रकारका अर्थात् ‘बि१२२२’ , ‘बि१ ६१९’, ‘डि६१४जी’ र ‘बि११७’ नामक युके भेरियन्ट र ‘बि.१.३५१’, ‘ए.२३.१’ र ‘बि.१.६१२.२’ नामक इन्डियन भेरियन्ट फेला परेको थियो ।अहिलेसम्म भियतनाममा संक्रमित हुनेको संङ्ख्या ७ हजार नाघिसकेको छ भने ४७ जना मानिसको ज्यान गइसकेको छ । अहिले संक्रमणको केन्द्रविन्दु होचिमिन्ह शहरको एउटा क्रिश्चियन मिसन छेउछाउ रहेको छ । त्यहाँ अहिलेसम्म कम्तिमा १ सय २५ जना कोरोना भाइरस पोजिटिभ भेटिएका छन् । जोखिम क्षेत्रका बासिन्दालाई पीसीआर परीक्षण गरी लकडाउनमा राखिएको छ । सरकारले प्रत्येक दिन १ लाख जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्