चीनमा दम्पतीलाई तीन सन्तान जन्माउने छुट



बेइजिङ, एजेन्सी ।
चीनले दुई सन्तानको कडा राष्ट्रिय नीतिको अन्त्य गरेको छ । चीनले अबदेखि प्रत्येक दम्पतीलाई तीनजना सन्तान पाउने अनुमति दिने भएको छ । चीनको आधिकारिक समाचार निकाय सिन्ह्वाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले पोलिटब्युरो बैठकमा यस नयाँ परिवर्तित नीतिमाथि हस्ताक्षर गरेको सोमबार बताएको छ ।

प्रत्येक एक दशकपछि गरिने राष्ट्रिय जनगणनाका अनुसार दशकौंदेखि चीनको जनसङ्ख्या वृद्धिदर निकै सुस्त गतिमा गइरहेको बुझिएपछि यो कदम चालिएको हो । यसकारण पनि चीनमाथि गम्भीर रूपमा जनसङ्ख्या घट्न नदिनका लागि दम्पतीहरूलाई सन्तान जन्माउन पे्ररित गर्नुपर्ने दबाब आइपरेको हो ।यसै महिनाको शुरूमा सार्वजनिक गरिएको चीनको पछिल्लो जनगणनाका अनुसार गत वर्ष १ करोड २० लाख शिशुको जन्म भएको थियो । सन् २०१६ मा यो सङ्ख्या १ करोड ८० लाख रहेको थियो । साठी दशककै यताको यो पछिल्लो जन्मदर अत्यन्तै न्यून हो ।

यो तथ्यांक सार्वजनिक हुनासाथै अधिकांश चिनियाँले सरकारले परिवार नीति नियममा खुकुलो गर्ने अपेक्षा गरेका थिए । एक सन्तान नीतिको समय दम्पतीहरू परिवार नियोजन गर्न वा गर्भपतन गराउन बाध्य हुने गरेका थिए ।सन् २०१६ मा चीन सरकारले विवादास्पद एक सन्तान नीतिको अन्त्य गरेर दम्पतीहरूलाई दुई सन्तान जन्माउने अनुमति प्रदान गरेको थियो । त्यसको दुई वर्षसम्म शिशु जन्मदरमा अलिकति सुधार आए पनि त्यसपछि सो दर घट्दै गएको थियो ।

प्रतिक्रिया दिनुहोस्