भियतनाममा हावाबाटै सर्ने खतरनाक नयाँ भाइरस भेटियो



हनोई, (एजेन्सी) ।

भियतनामको सरकारी सूत्रले हावाबाटै तीव्र गतिमा सर्ने नयाँ प्रकारको कोरोना भाइरस फेला परेको दाबी गरेको छ । यो भाइरस भारतीय र बेलायती कोभिड–१९ को नयाँ विकसित स्वरूप अर्थात् भेरियन्टहरू मिलेर बनेको भियतनामी स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको हो । गत वर्षको अधिकांश समय कोरोना भाइरसलाई नियन्त्रणमा राख्न सफल भियतनाममा गत अप्रिलको उत्तराद्र्धदेखि संक्रमितको संङ्ख्या बढ्ने क्रममा छ । अहिलेसम्म संक्रमित कुल सङ्ख्या ६ हजार ८ सय ५६ मध्ये आधाभन्दा बढी त अप्रिलपछि देखिएका हुन् ।

भियतनाममा सरकारी आधिकारिक तथ्यांकअनुसार मृतकको संख्या भने ४७ रहेको छ । स्वास्थ्यमन्त्री गुयन थान्ह लोंगले पत्रकारहरूलाई भनेका छन्– ‘भियतनाममा पहिलोपटक भारत र संयुक्त अधिराज्यमा देखिएका कोभिड–१९ का भेरियन्टका विशेषताहरू मिलेर बनेको नयाँ भेरियन्ट फेला परेको हो । यसलाई ती दुई भेरियन्टको वर्णशंकर अर्थात् हाइब्रिड मान्न सकिन्छ । शुरूमा युके भेरियन्टबाट म्युटेसन भएर बनेको नयाँ इन्डियन भेरियन्ट निकै खतरनाक रहेको छ ।’अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार दक्षिणपूर्वी एसियाली मुलुक भियतनाममा यसअघि सात प्रकारका अर्थात् ‘बी.१.२२२’ , ‘बी.१.६१९’ , ‘डी६१४जी’ र ‘बी.१.१.७’ नामक युके भेरियन्ट र बि.१.३५१ , ‘ए.२३.१’ र ‘बी.१.६१२.२’ नामक इन्डियन भेरियन्ट फेला परेको थियो ।

लोंगले यथाशिघ्र छिटै नै यस नयाँ भेरियन्टको आनुवंशिकस्वरूप र तथ्यांक सार्वजनिक गरिने पनि बताएका छन् । उनले यो अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा छिटो सर्ने खालको भेरियन्ट भएको जानकारी दिएका छन् । अहिलेसम्म विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वको चिन्ताको प्रमुख विषय रहेको सार्स–कोभ–२ को चारवटा भेरियन्टको पहिचान गरेको छ । तिनीहरू भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा पहिलोचोटि देखिएका भेरियन्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्