एल्गीको प्रयोगबाट अन्धोपनाको सफल उपचार



लन्डन, एजेन्सी।

जलीय वनस्पति एल्गीमा पाइने प्रकाश सचेतना प्रोटिनको प्रयोग गरेर पूर्ण अन्धाहरूको आंशिक दृश्य शक्ति फर्काउन सकिने नेचर मेडिसिनमा प्रकाशित एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रयोगका रूपमा एकजना अन्धा मानिसमाथि आँखाको पछिल्ला भागमा रहेका कोषहरूका नियन्त्रणका लागि सो प्रोटिन गरी ‘ओप्टोजेनटिक्स’ नामक एक प्रकारको थेरापी विधि प्रयोग भएको बताइएको छ ।

ती व्यक्तिले सडकको जेब्रा क्रसिङ देख्न सक्ने भएपछि उपचार प्रभावकारी भएको महशुस गरिएको हो । नेचर मेडिसिनका अनुसार अहिले ती व्यक्तिले टेबुलमा राखिएका वस्तु समाउन र गन्न सक्छन् । नाम नखुलाइएका ती व्यक्ति फ्रान्सको ब्रिटानीमा बसोबास गर्दछन् । यो विधि अपनाएर उनको उपचार फ्रान्सको राजधानी पेरिसमा भएको हो ।

ती व्यक्तिले ४० वर्षअघि ‘रेटिनाइटिस पिगमेन्टोसा’ नामक रोगको कारण दृष्टि गुमाएका थिए । यो रोगले रेटिनाको सतहमा रहेका कोषहरूको प्रकास महशुस गर्ने क्षमतालाई मार्ने गर्दछ । यसले विश्वका २० लाखभन्दा बढी मानिसलाई सताउने गरेको अनुमान छ । तर, यसले पूर्ण अन्धा बनाउने अति नै न्यून सम्भावना छ । यी पुरुषले भने विगत दुई दशकदेखि पूर्णतः दृष्टि गुमाएका थिए । वैज्ञानिकहरूले उनका दुईमध्ये एक आँखामा दृष्टि फर्काउन सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्