लहलहैमा विषालु सर्प खाने दण्डित



नयाँदिल्ली, एजेन्सी ।

भारतको तमिलनाडु राज्यस्थित एकजना पुरुषलाई सर्प खाएको अभियोगमा पक्राउन गरी सात हजार भारु जरिवाना तिराइएको छ । ‘भादिवेल’ नामक ५० वर्षीय कृषि मजदुरले विषालु सर्प खाएको भिडियो फुटेज यसै सातको शुरूमा भरातको सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उनले सो दुस्साहपूर्ण काम गर्दै भिडियोमा सर्प खानु कोभिड–१९ बाट बच्ने राम्रो उपाय भएको बताउँदै गरेको देखिएको ‘टाइम्स अफ इन्डिया’ले जनाएको छ । उनलाई बिहीबार स्थानीय वन विभागले पक्राउ गरेको हो ।वातावरणविद्हरूले प्रहरीलाई भाइरल भएको भिडियोबारे उजुरी गरेपछि तमिलनाडुको पेरुमाल्पत्ती गाउँ निवासी उनी पक्राउमा परेका हुन् । इन्डिया टुडेका अनुसार भादिवेलले आफूले खेतमा समातेको सर्पलाई खानुअघि मारेको बताएका थिए ।

यद्यपि, मादुराई जिल्ला वन अधिकारी एस आनन्दले घटनाका बेला उनी रक्सीले मात्तिएको र अन्य व्यक्तिहरूले उनलाई सर्प खान उक्साएको टाइम्स अफ इन्डियालाई बताएका छन् । तर, भाग्यवश उनले सर्पको विष ग्रन्थी भने नतोकेकाले उनको ज्यान जोगिएको बताइएको छ । उनले भारतीय उपमहाद्वीपमा पाइने अत्यन्तै विषालु करेत प्रजातिको सर्प खाएका हुन् । वन अधिकारीका अनुसार उनलाई सर्प खान उक्साउनेहरूले नै उनलाई कोभिडसम्बन्धी गलत सूचना पनि दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्