सौन्दर्य प्रतियोगिता आफैंमा करियर होइन – रोजिन शाक्य



रश्मी थापा

रोजिन शाक्य नेपाली फेसन र सञ्चार जगतमा लोकप्रिय र स्थापित नाम हो। फेसन शो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, रंगमञ्चीय कार्यक्रम सञ्चालन, फेसन तथा टुरिजम एन्ड हस्पिटालिटी कलेज अध्यापन, पर्सनालिटी ग्रुमिङ प्रशिक्षणलगायतका क्षेत्रमा आफूलाई दुई दशकदेखि निरन्तर सक्रिय राख्दै आएका रेजिनले दर्जनौं स्टेज कार्यक्रममा नृत्य, सडक र डबली नाटक,म्युजिक भिडियो मोडलिङ, म्यागाजिन कभर पेज तथा सूचना र जनचेतना जगाउने टेलिभिजन विज्ञापनमा मोडलिङसमेत गरेका छन्। राष्ट्रिय अन्तराष्ट्रिय कोरियोग्राफरका साथ मोडलिङ, कोरियोग्राफी, ग्रुमिङ, व्यक्तित्व विकासजस्ता विधामा दर्जनौं अध्ययन, कक्षा र प्रशिक्षण लिई खारिएका उनी १३ वर्ष यता इमेज टेलिभिजनमा नेपाल भाषाको समाचार वाचकका रूपमा समेत सक्रिय छन्। उनै रोजिनसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

सधैं व्यस्त रहनुहुन्थ्यो, अहिले लकडाउनले फुर्सदै फुर्सद होला हैन?

फुर्सदमा बस्ने बानी नै छैन। लकडाउनले तुलनात्मक रूपमा सक्रियता घटाए पनि फुसर्दमै बसेको भने छैन। समाचार वाचन नियमित नै छ, कलेजमा अनलाइन अध्यापन गरिरहेकै छु। केही अनलाइनका लागि फेसन र मोडलिङ विषयमा कलम चलाइरहेको छु भने केही भाषा अनुवादका काम पनि गरिरहेको छु। झन्डै एक वर्ष यताबाट नियमित रूपमा सञ्चालन गरिरहेको फेसबुक लाइभ टक शो स्पिक टू मी पनि जारी छ।

नेपालमा कोरियोग्राफीको स्कोप कस्तो छ?

सौन्दर्य तथा मोडल प्रतिस्पर्धा एवं फेसन शोको नियमित आयोजना र संख्यात्मक वृद्विसँगै कोरियोग्राफरको भूमिका र आवश्यकता बढेकाले यसको स्कोप पनि बढेको छ। अहिले सौन्दर्य प्रतियोगिताका लागि पर्सनल ट्रेनर राख्ने ट्रेन्ड छ। यसले गर्दा पनि कोरियोग्राफरको व्यवसायिक दायरा बढेको छ। यसबाहेक विद्यालय तथा कलेजमा इन हाउस कार्यक्रमको आयोजना बढ्दै गएकाले कोरियोग्राफरको उपस्थितिलाई बढाएको छ।

दक्ष फेसन कोरियोग्राफर हुन के -केमा निपूर्ण हुनुपर्छ?

मेरो विचारमा फेसन कोरियोग्राफीमा सृजनात्मक र प्राविधिक दुई पाटो हुन्छ। सृजनात्मक पाटो अनुभव सँगै बढ्दै जान्छ, यसको सीमितता हुँदैन तर प्राविधिक पक्षबारे अध्ययन नगरी, नसिकी हुँदैन। प्राविधिक पक्षले सृजनात्मक प्रस्तुतिलाई अझ बढी प्रभावकारी बनाउँछ। सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी स्टेज प्रस्तुतिकरण बाहेक प्रतिस्पर्धीको ग्रुमिङ पक्ष अत्यन्त महत्वपूर्ण हुन्छ। उसको आत्मविश्वास वृद्धि, व्यक्तित्व विकास, सञ्चार कलाको विकास,विभिन्न विषयसँग सम्बन्धीत रहेर प्रश्न उत्तरको तयारी, समग्र मञ्चको प्रस्तुतिकरण कोरियोग्राफरको अभिभारा हो। यसबाहेक ब्याकस्टेज संयोजन, कार्यक्रमको रूपरेखाको तयारी, ब्याकग्राउन्ड म्युजिक, स्टेजको आकार प्रकार, लाइट साउन्डको संयोजनलगायतको प्राविधिक पाटो पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

नेपालमा फेसन क्षेत्रमाथि उठ्न नसक्नुको कारण के होला?

मेरो अनुभवमा नेपालको फेसन क्षेत्र तुलनात्मक रूपले हिजोभन्दा अहिले राम्रो भएको छ, तर सोचेअनुरूप व्यवसायिकता बढ्न सकेको भने छैन। चाहे त्यो मोडल होस् या फेसन डिजाइनर वा फेसन कोरियोग्राफर यी विधामा पनि करियर बन्न सक्छ भन्ने विश्वास बढेको छ। छिमेकी मुलुकको तुलनमा हाम्रो बजार सानो छ र त्यसमा पनि अस्वस्थ प्रतिस्पर्धा बढेकाले व्यावसायिक दायरा सोचेअनुरूप बढ्न पाएको छ्रैन।

एउटा मोडल वा कोरियोग्राफरलाई फेसन क्षेत्रमा लागेर जीवन धान्न सकिने अवस्था छ?

यो व्यक्तिमा निर्भर गर्छ। यसै क्षेत्रलाई निरन्तरता दिएर, यसैलाई आम्दानीको मुख्य श्रोत बनाउनेको उदाहरणको कम छैन। समय परिस्थितिअनुसार परिस्कृत र परिमार्जित हुँदै अघि बढ्न सके प्रशस्त सम्भावना हुन्छ र भएको पनि छ। आफूलाई प्याकेजका रूपमा विकास गर्न सकियो भने पछाडि फर्केर हेर्नुपर्दैन भन्ने मेरो अनुभव छ।

फेसन शोमा कोरियोग्राफरको काम कहाँ निर झल्कन्छ?

फेसन शोमा प्रदर्शन गरिने डिजाइनरको सिर्जनालाई आकर्षक रूपमा प्रस्तुत गर्न मोडलको प्रयोजन हुन्छ। कोरियोग्राफरको जिम्मेवारी डिजाइनरको त्यो पहिरनको कल्पना, अवधारणा बुझेर मोडलमार्फत आकर्षक ढंगले प्रस्तुत गराउनु हो। यसमा मोडलको हिँडाइ, हेराइ, हाउभाउ, ड्रेस डिस्प्ले, ड्रेसअनुसार मोडलको लाइनअप, स्टेजको डिजाइन, म्युजिक सेलेक्सन, लाइट साउन्डको संयोजन, ब्याकस्टेज संयोजन, दर्शकको सिटिङलगायत सबै पर्छ। समग्रमा फेसन डिजाइनरले सिर्जना गरेका पहिरनलाई दर्शकमाझ बोरिङ नहुने ढंगबाट -याम्पमा मोडलमार्फत् मनमोहक शैलीमा प्रस्तुत गर्ने कला फेसन कोरियोग्राफी हो।

फेसन कोरियोग्राफी क्षेत्रको चुनौती के कस्ता छन्?

आफ्नो कल्पनाशीलता र सिर्जनात्मकतालाई समय र अवस्था हेरेर परिमार्जन र परिष्कृत गर्दै लानुपर्ने यो विधाको पहिलो आवश्यकता हो। फेसन शोलाई निर्धारित समय सीमाभित्र सम्पन्न गर्नु र त्योभित्र फेसन डिजाइनरको मिहेनत र सिर्जनालाई मोडलको प्रस्तुतिमार्फत् न्याय दिनका लागि कोरियोग्राफरको तत्परता र अग्रसरता सदैव कायम रहनुपर्छ। फिल्ममा जसरी निर्देशक क्याप्टेन अफ द शिप हुन्छ, त्यसरी नै फेसन शोमा कोरियोग्राफर क्याप्टेन अफ द शिप हुने गर्छ। व्यावसायिक पाटोको सवालमा कोरियोग्राफरको भूमिका र जिम्मेवारी बुझेर पारिश्रमिक दिनेतर्फ अझै पनि आयोजकले दिल खोल्न सकेको देखि”दैन। मोडललाई निर्देशन गर्नु र कोरियोग्राफी गर्नु फरक कुरा हो भन्ने बुझ्नेहरू कमी पाइन्छ।

धेरै वर्ष भयो, फेसन शो कम, सौन्दर्य प्रतियोगिताको बाढी आएको छ, किन होला?

लगानीका हिसाबले फेसन शो सौन्दर्य प्रतियोगिताको तुलनामा बढी महँगो छ। यसको प्रतिफल भनेको डिजाइनरको सिर्जनाले बजार पाउनु हो। जुन हाम्रो परिवेशमा सोचेअनुरूप छैन। यो सँगै हाम्रो परिवेशमा फेसन शो हेरेर नयाँ फेसन शैली बुझ्ने, त्योअनुरूप आफ्नो डे«सिङलाई सुधार्ने, बनाउने भन्ने परिपाटी बसेकै छैन। यसले गर्दा पनि फेसन शोमा विशेषतः पहिरनमा गरिने लगानीको प्रतिफल निकै कम पाइने गरेको छ। प्रायोजन, टिकट बिक्री पनि अर्को प्रमुख पाटो हो, जसले फेसनको आयोजनामा प्रत्यक्ष असर पु-याएको छ। त्यस्तै, सौन्दर्य प्रतियोगिता आफैँमा सिकाइको बहुआयामिक थलो हो। जहाँ सहभागीले आफूलाई पर्सनबाट प्रोफेसनल्ली यात्रा तय गर्ने सक्ने फराकिलो आधार भेट्ने गर्छ। व्यक्तिको सशक्तीकरण र समग्र व्यक्तित्व विकासमा यसले महत्वपूर्ण योगदान दिने गर्दछ। यसले गर्दा पनि सहभागीहरू जुनसुकै उमेर समूहको किन नहोउन्, यसतर्फ आकर्षित भएको पाइन्छ। यसले गर्दा पनि सौन्दर्य प्रतियोगिताको क्रेज बढाएको छ।

सौन्दर्य प्रतियोगितामा विजयी हुनेलाई करियरको हिसाबले फाइदा हुन्छ?

सौन्दर्य प्रतियोगिता आफैँमा करियर होइन, तर यसले अनेकन करियरका लागि अवसर भने सिर्जना गर्छ। विशेषतः मोडलिङ, फेसन, मिडिया, हस्पिटालिटी क्षेत्रमा यसले करियरको मार्ग प्रशस्त गर्दछ। आकर्षक व्यक्तित्व भएका, प्रभावकारी ढंगबाट बोल्न सक्ने, आत्मविश्वास भएका, नेतृत्वदायी क्षमता भएका व्यक्ति सबैजसो क्षेत्रका लागि पहिलो आवश्यकता हो। सौन्दर्य प्रतियोगिताले यी कुरामा सहभागीलाई निखार्ने काम गर्दछ। यही प्रक्रियामा सबैभन्दा बढी निखारिएको र प्रभावकारी देखिएको सहभागी नै अन्ततः सौन्दर्य प्रतियोगिताको विजेता बन्ने भएकाले अवश्य पनि उसले चयन गर्ने आफ्नो करियर र व्यक्तिगत जीवनमा लाभ तथा अवसर प्राप्त गर्छ नै।

बाढीझैं उर्लिएको सौन्दर्य प्रतियोगिताका विकृति के कस्तो देख्नुभएको छ?

विगतका दिनमा भन्दा अहिलेको सन्दर्भमा सौन्दर्य प्रतियोगिता संख्यात्मक रूपले वृद्धि भएको छ। संख्यात्मक वृद्धिले प्रतिस्पर्धा बढ्ने र त्यसले प्रस्तुतिको स्तर अभिवृद्धि हुने, एउटा सामान्य फर्मुला हो। तर, यो क्षेत्रमा संख्या मात्र थपियो, स्तरको वृद्धि भएको देखिँदैन। कार्यक्रम आयोजनालाई सजिलो काम मान्ने मानसिकताले पनि बिगारेको देखिन्छ। देखासिकीमा, कसैलाई देखाउन र केहीले रहर मात्रका लागि पनि कार्यक्रम गरिदिनाले उद्देश्य भएका, स्तरीयतालाई ध्यान दिने र दीर्घकालीन उपलब्धिमा विचार गरेर लाग्नेलाई प्रतिकूल असर पारेको छ।

धेरैजसो प्रतियोगितामा सेटिङ र पहुँचका आधारमा विजेता छानिन्छ रे नि?

प्रतियोगिताको नियम नै हो कि कोही एकजना विजेता हुन्छ, सबैजना हुँदैनन्। हरेक प्रतियोगिताको मूल्यांकनको आधार फरक फरक हुने गरेको पाइन्छ। कुनैमा पनि निर्णायकको मत नै निर्णायक हुन्छ, कुनैमा आन्तरिक मूल्यांकनलाई पनि विजेता चयन प्रक्रियामा समावेश गरेको पाइन्छ। कुनैमा मल्टिमिडिया प्लेटफर्मबाट प्राप्त अभिमत, भोटिङ पनि महत्वपूर्ण पाटो बनाइएको हुन्छ। विजेता चयन प्रक्रियामा एकाध कार्यक्रम विवादित नभएको पनि होइन। सबै आयोजनालाई शंकाकै दृष्टिकोणले हेर्नुचाहिँ ठीक होइन।

फेसन कोरियोग्राफी र ब्युटी पेजेन्ट कोरियोग्राफीमा के भिन्नता छ?

फेसन कोरियोग्राफीमा मोडलको प्रस्तुतीकरणमार्फत फेसन डिजाइनरको सिर्जनालाई सुन्दर र मनमोहक ढंगबाट अभिव्यक्त गर्ने पक्ष महत्वपूर्ण हुन्छ भने ब्युटी पेजेन्ट कोरियोग्राफीमा सहभागीको समग्र ग्रुमिङको खाका कोरेर, उसमा आएका सकारात्मक र प्रभावकारी बदलावलाई उसको प्रस्तुतीकरणमार्फत मञ्चीय रूपरेखामा अवतरण गराउने काम हुन्छ।

समाचार वाचन, कोरियोग्राफी, कार्यक्रम सञ्चालन, फेसनबारे लेखन एकसाथ गरिरहनुभएको छ। कसरी भ्याउनुहुन्छ?

मैले गर्ने कामका लागि अरु कसैले नभई म आफैंले समय व्यवस्थापन गर्ने हो। यसका लागि परिवारका सदस्यहरूले समझदारी अपनाइदिनुभएको छ। यसले मेरो कामप्रतिको प्रतिबद्धता र प्राथमिकतालाई कार्यान्वयन गर्न सहजता प्राप्त भएको छ। समयको सदुपयोगिता, सक्रिय रहिरहने स्वभावले सबै कुरालाई व्यवस्थापन गर्न सम्भव भएको छ। कोरियोग्राफी, कार्यक्रम सञ्चालन र सञ्चार क्षेत्रमा कुनचाहिं सजिलो र कुन गाह्रो?सबै कामको आ–आफ्नै महत्व छ। तर, सबै एक अर्कामा सम्बन्ध राख्छन्। आफूलाई सधै परिमार्जन गर्न पाइने, एक्सप्लोर गर्न अवसर पाइने विधा भएकैले यी तीनै काम मेरो व्यवसायिक जीवनको महत्वपूर्ण पाटो हो। अतः आफूलाई मनपर्ने कामका गाह्रो भन्ने शब्दलाई अहिलेसम्म मैले स्थान दिएकै छैन। सबैमा उत्तिकै मिहेनत लाग्छ, समय लाग्छ। सबैभन्दा महत्वपूर्ण भनेको यी सबैले मलाई खुसी बनाउँछ, कारण यी सबैबाट अरूलाई कुनै न कुनै रूपमा खुसी दिने काम भएको हुन्छ। म यी सबैमा निरन्तर रमाइरहेको छु, यो नै महत्वपूर्ण छ।

व्यस्तता अनुसार कमाइ कत्तिको हुन्छ?

मबाट भोल्युन्टरी काम पक्कै हुँदैन। मैले लगानी गर्नुपर्ने समय, गर्नुपर्ने मिहेनत र मेरो जिम्मेवारीको दायराले मेरो पारिश्रमिक निर्धारण गर्दछ। म वर्गीकरण गरेर काम गर्ने गर्दिन, सबै कामलाई सम्मान गर्छु। धेरै पारिश्रमिक वा थोरै पारिश्रमिक भन्दा पनि त्यो प्रोजेक्टले म आफूलाई एक्सप्लोर गर्ने अवसर प्रदान गर्छ कि गर्दैन भन्ने मेरा लागि महत्वपूर्ण हुन्छ। नेपाली बजारअनुसार हालसम्मको कमाइबाट म सन्तुष्ट र खुसी छु। पारिश्रमिकमा बार्गेनिङ हुने पाटो भने अलिक चित्त बुझ्दैन। आर्थिक कमाइभन्दा बढी कमाएको भनेको धेरै पब्लिक रिलेसन, शुभचिन्तक, मेरो कामप्रति विश्वास गरेर मलाई निरन्तर व्यस्त बनाइराख्नेहरू नै हो, जुन बढी महत्वपूर्ण छ।

यो क्षेत्रमा आउन चाहनेका लागि के सल्लाह दिन चाहनुहुन्छ?

यो अवसर सिर्जना गर्ने क्षेत्र हो। यो बहुआयामिक भएकाले आफ्नो सशक्त पक्षलाई पहिचान गरेर त्यहीअनुरूप आफूलाई कुन दिशातर्फ अघि बढ्ने भन्ने निर्धारण गर्नका लागि आधार प्राप्त हुने क्षेत्र हो। आफ्नो चाहना के हो, किन त्यो चाहना छ र त्यो चाहना पूरा गर्न कसरी अगाडि बढ्ने तयारीसहित आएमा रोकिनुपर्ने, अलमलिनुपर्ने अवस्था हुँदैन।

फेसनकै क्षेत्रमा केही गर्ने सपना छ कि?

ठूलो सपनामा बाँच्ने बानी छैन। समय परिस्थितिले के डिमाण्ड गर्छ, त्यहीअनुरूप आफूलाई परिमार्जन गर्ने भएकाले यही गन्तव्यमा पुगेर यो यात्राले विश्राम पाउँछ भन्ने ममा लागू हुँदैन। यही क्षेत्रसित सम्बन्धित केही कुराको थालनी गरेको छु, अहिलेको प्रतिकूलताबाट बाहिर निस्केपछि ती थालनी गरेका कुरालाई बृहत् गर्छु। हाललाई थकान विनाको यात्राको निरन्तरता नै ठूलो कुरा भएको छ।

 

प्रतिक्रिया दिनुहोस्