बार्सिलोनाको कठिन जित



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले कठिन जित निकालेको छ ।बार्सिलोनाले लिगको २९औं साताको खेलमा रियल भाल्लाडोलिडविरुद्ध अन्तिम समयमा गोल गर्दै १–० को कठिन जित निकालेको हो । खेलको ९०औं मिनेटमा बार्सिलोनाका लागि फ्रेन्च विंगर उसामान डेम्बेलेले उक्त निर्णायक गोल गरेका थिए ।

क्याम्प नोउ रंगशालामा घरेलु टोली बार्सिलोनाका लागि डेम्बलेले खेल सकिन केही सेकेन्ड मात्रै बाँकि छँदा पाएको अवसरको सदुपयोग गर्दै उनले बललाई जाली चुमाएका थिए । त्यसअघि, पाहुना टोली भाल्लाडोलिड खेलको ७९औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो ।

मिडफिल्डर ओस्कार पलानो दोहोरो पहेंलोका साथ रातो कार्ड खाएर मैदान छाडेपछि भाल्लाडोलिड दबाबमा परेको थियो । तैपनि, भाल्लाडोलिडले बार्सिलोनामाथि लगातार दबाब बनाइरहेको थियो । तर, अन्तिम समयमा बार्सिलोनाका खेलाडीलाई राम्रोसँग मार्क गर्न नसक्दा पाहुना टोली पराजित भयो । यो जितपछि २९ खेलबाट बार्सिलोनाको ६५ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्